२०८१ फागुन १५, बिहिवार , ०७:३०:०२ बजे

Sajhamanch
'

मेचीनगर १५ को वडा कार्यालय भवन शिलान्यास

बिहिवार, फागुन १५, २०८१

मेचीनगर । तत्कालिन ज्यामिरगढी गाविसको पुरानो भवनबाट कार्यसम्पादन गरिरहेको मेचीनगर नगरपालिकाको १५ नम्बर वडा कार्यालयले अब चाँडै काँचुली फेर्ने भएको छ ।

आज नगरप्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीेले कार्यालय परिसरमा वडा कार्यालयको नयाँ भवन शिलान्यास गरेपछि परिवर्तनको आभाष मिलेको हो ।

शिलान्यास कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, पूर्वाधार विकास शाखा प्रमुख रोशन रिमाल लगायतको सहभागिता थियो ।

वडा नम्बर १५ का वडाध्यक्ष गुणराज भट्टराई (राजन)ले दुई तलाको सुविधा सम्पन्न नयाँ भवन बनाउन आज बिहीबार शिलान्यास गरिएको बताए ।

गत माघ २९ गतेदेखि काम थालनी गरिएको उक्त भवनको दुई तलामा ९ वटा कोठा रहने पूर्वाधार विकास शाखा प्रमुख रिमालले जानकारी दिए ।

आगामी २०८२ असार १० गते सम्पन्न हुने गरी मूल्य अभिवृद्वि करसहित ६१ लाख २९ हजार ४४५ रुपैयाँ ३९ पैसामा दुर्गामाता निर्माण सेवालाई ठेक्का दिइएको उनको भनाई छ ।

अब मेचीनगरका १५ वटा वडामध्ये २ वटा वडा कार्यालयको मात्र भवन बनाउन बाँकी रहेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए ।

मेचीनगरका वडा नम्बर १२ र १३ को कार्यालय भाडामा लिइएको भवनबाट सञ्चालनमा छन् । अन्य सबै वडाको आफ्नै कार्यालय रहेका छन् ।

नगरप्रमुख बुढाथोकीले वडा नम्बर १२ र १३ लाई पनि भवन बनाउन चालु आर्थिक वर्षमा बजेट छुट्टिएको बताए । वडा नम्बर १३ को केही दिनमा टुंगो लाग्छ भने १२ नम्बरको यही वर्षमा भवन बनाउने काम सुरु हुने उनले बताए ।

सम्बन्धित खबर