
झापा । ‘दुःखमा प्रेस चौतारी सुखमा प्रेस चौतारी’ थीममा आधारित रहेर प्रेस चौतारी झापाले यसै महिनादेखि सुरु गरेको अभियानमा पत्रकार सुरज प्रधान पहिलो लाभान्वित भएका छन् । प्रेस चौतारी झापाले फागुन ११ गते सार्वजनिक गरेको कार्ययोजनामा समावेश उक्त अभियान अन्तरगत झापाली पत्रकारहरुलाई अप्ठ्यारो परेको अवस्थामा काँध हाल्ने लक्ष्य लिइएको छ ।
इलामको पूर्वी ग्रामीण भेगमा सञ्चालित फुटबल प्रतियोगिताको प्रतक्ष्य प्रसारण सकेर साँझ घर फर्कंदै गरेका रेडियो साथी काँकरभिट्टाका पत्रकार प्रधान दुर्घटनामा परेर घाइते भएका थिए । मेचीनगर ३ भावनाचोक आसपास मूल सडकमा नै एकापसमा लडाईं गरिरहेका कुकुरले बाटो काट्दा पत्रकार प्रधानले चलाएको मोटरसाइकल अनियन्त्रित भई लडेको थियो । घटनामा उनको ओठ काटेको र टाउकामा भित्री चोट देखिएको चिकित्सकले जनाएका छन् ।
बिर्तासिटी अस्पतालमा उपचाररत उनलाई प्रेस चौतारी नेपाल झापाले ३० हजार १२० रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो । प्रेस चौतारी नेपाल झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषका संयोजक भिमा शिवाकोटीले संचारकर्मी प्रधानको बहिनी सिमा प्रधानलाई उक्त रकम हस्तनान्तरण गरेकी हुन् ।
प्रेस चौतारी झापाका सदस्यहरुले स्वेच्छाले संकलन गरेका उक्त रकम घाइते प्रधानलाई प्रदान गरिएको पत्रकार उपचार सहयोग कोषका परिकल्पनाकार, प्रेस चौतारी झापाका पूर्व अध्यक्ष गोपाल काफ्लेले बताए । वर्तमान कार्यसमितिको कार्ययोजनामा नै समावेश गरेर ‘दुःखमा प्रेस चौतारी सुखमा प्रेस चौतारी’ थीममा आधारित रहेर सहयोग गर्न थालिएको संगठनको केन्द्रीय सदस्य समेत रहेका काफ्लेले बताए ।
प्रेस चौतारी झापाकी उपाध्यक्ष सुनिरा मैनाली, पत्रकार महासंघ झापाका सहसचिवहरु रमेश तिवारी र तिलक योञ्जन, पत्रकारहरु सन्तोष न्यौपाने, प्रेम आचार्य, सिर्जन घिमिरे, तीर्थ तिम्सिना, आयुस निरौला लगायतले अस्पतालमा नै पुगेर प्रधानको स्वास्थ्य लाभको कामना गर्दै उक्त सहयोग रकम हस्तान्तरण गरेका थिए ।
सोही अवसरमा अर्जुनधारा प्रेस क्लबमा आवद्ध पत्रकारहरुबाट संकलित १८ हजार ६०० रुपैयाँ र बुद्धशान्ति प्रेस क्लबमा आवद्ध पत्रकारहरुबाछट संकलित ८ हजार ५०० रुपैयाँ पनि प्रदान गरिएको थियो ।
अर्जुनधारा प्रेस क्लबका तर्फबाट उपाध्यक्ष प्रेम आचार्य र बुद्धशान्ति क्लवका तर्फबाट अध्यक्ष तीर्थ तिम्सिनाले उक्त रकम हस्तान्तरण गरेका हुन् ।