
मेचीनगर । मेचीनगर नगरपालिका, नगर कार्यपालिकाको आज बसेको वैठकले मुख्य चार वटा निर्णयहरु गरेको छ ।
मंगलबार बिहान मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा बसेको वैठकले जनतासँग प्रत्यक्ष सरोकार राख्ने मुख्य चारवटा विषयहरुकार्यान्वयन गर्ने निर्णय गरेको हो ।
मेचीनगर नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर २ का वडाध्यक्ष दिपक बरालले कोशी प्रदेश सरकारले योजना बैंक तयार गर्न स्थानीय तहहरुसँग योजनाहरुको विवरण माग गरे अनुसार पहिलो निर्णय भएको जानकारी दिए ।
उनका अनुसार नगरका सबै वडाहरुमार्फत योजना तथा कार्यक्रमको विवरण संकलन गरी संकलित योजना तथा कार्यक्रमको विवरण नगर योजना बैंक तयार गरेर कोशी प्रदेश योजना बैंकमा सिफारिस गर्ने निर्णय गरिएको छ ।
नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहलाई दिएको काम, कर्तव्य र अधिकारभित्र रहेको सार्वजनिक निजी, साझेदारी र सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न ऐन निर्माण गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय भएको प्रवक्ता बरालले बताए ।
तेस्रो, वीपी कोइराला छात्रवृति र शहीद विरेन राजवंशी छात्रवृतिका लागि विनियोजित बजेट कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
चौथो निर्णय संघीय सरकारले स्थानीय तहलाई समपूरक कोष र विशेष अनुदानको रुपमा उपलब्ध गराउने योजनाहरु सिफारिस गर्ने रहेको उनको भनाई छ ।
वैठकले उक्त चारवटा मुख्य निर्णयसहित जनतासँग प्रत्यक्ष सरोकार राख्ने थप निर्णयहरु नगरपालिकाको वेवसाइटमा हेर्न सकिने उनले जानकारी दिए ।