२०८१ माघ २९, मङ्गलवार , ०७:५६:४७ बजे

Sajhamanch
'

तेलहन बाली प्रवर्धनमा भद्रपुर नगरपालिकाको अनुदानले खेतीमा बढोत्तरी

मङ्गलवार, माघ २९, २०८१
  • द्रोण अधिकारी

भद्रपुर । भद्रपुर नगरपालिकाले तोरी तथा आलस खेती गर्ने किसानलाई अनुदान दिन थालेपछि व्यवसायिक रूपमा तेलहन खेती बढ्दै गएको पाइएको छ ।

नगर कृषि विकास शाखाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/०८० को तुलनामा २०८०/०८१ मा ४ गुणाले तेलहन खेती गर्ने किसान बढेका थिए भने चालू आर्थिक वर्ष २०८१/०८२ मा अझ बढ्ने कार्यालयको अनुमान छ ।

आर्थिक वर्ष २०८०/०८१ मा भद्रपुरमा तेलहन खेती गर्ने कृषि सहकारी, कृषक समूह र कृषक गरी ८४१ ले लाभ लिएको विवरण छ । तथ्याङ्क अनुसार भद्रपुर नगरपालिका क्षेत्रमा औषत १० हजार ५८८ दशमलव ५ मन तोरीको उत्पादन भएको देखिन्छ ।

यस्तै, आलस खेतीको क्षेत्रसमेत विस्तार भई ७०५ कठ्ठा पुगेको छ । तेलहन खेतीको लागि अधिल्लो आर्थिक वर्षमा प्रतिकठ्ठा ६०० रूपैयाका दरले अनुदान दिएको नगरपालिकाले गत आर्थिक वर्षमा संख्या अधिक बढेपछि प्रति कठ्ठा ३०० रुपैयाँका दरले अनुदान रकम प्रदान गरेको थियो ।

आर्थिक वर्ष २०७९/०८० मा अनुदानका लागि कार्यपालिकाले तय गरेको नीति अनुसार न्यूनतम तोरी खेतीका लागि १० कठ्ठा खेती गर्ने किसानले प्रतिकठ्ठा ६ सय अनुदान पाउने व्यवस्था गरेको थियो । त्यसयता हरेक वर्ष तोरी खेती बढ्दै गएको छ ।

हरेक वर्ष अनुदानका कारण तोरी खेती बढे पनि उपभोक्ताले भद्रपुरको तोरीभन्दा बाहिरबाट आयात गरिएको तोरी सहुलियत दरमा किन्न पाइरहेको गुनासो भने घटेको छैन ।

तेलहन बाली प्रवर्धन कार्यक्रम अन्तरगत आर्थिक वर्ष २०८०/०८१ मा भद्रपुरमा ५३३ हेक्टर क्षेत्रफलमा तोरी खेती लगाइएको थियो । तेलहन बाली प्रवर्धन कार्यक्रम अन्तरगत ५३३ हेक्टर क्षेत्रफलमा तोरी खेती गरेको विवरणसहित आवेदन दिएर कृषकले अनुदान लिएका थिए ।

तोरीखेतीको अनुदान प्राप्तिका लागि भद्रपुरमा ८४१ कृषकको आवेदन परेको थियो । तोरी खेतीमा परेको आवेदनमाथि अनुसन्धान र अनुगमन पश्चात अघिल्लो वर्ष २३ लाख रुपैयाँ अनुदान वितरण गरिएको थियो ।

यसैगरी, गएको वर्षबाट सुरू भएको तेलहन कार्यक्रम अन्र्तगत आलस खेती प्रवर्धनमा करिब २७ हेक्टर क्षेत्रफलमा आलस खेती गरिएको दावीसहित अनुदानका लागि आवेदन परेको थियो । सो कार्यक्रम अन्तरगत प्रतिकठ्ठा ६०० अनुदान दिने गरी न्यूनतम एक कठ्ठा जग्गामा आलस लगाउने कृषक सहभागी हुन पाउने गरी अनुदान रकम दावी गर्न सूचना गरिएको थियो ।