२०८१ माघ २८, सोमवार , ०७:३२:३९ बजे

Sajhamanch
'

प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिता : अर्जुनधारा ७ दमक ०

आइतवार, माघ २७, २०८१

बिर्तामोड । झापाको बिर्तामोडमा शनिबारदेखि सुरु भएको प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगितामा आज दोस्रो दिनको खेलमा दमक नगरपालिकाको टिमलाई पराजित गर्दै अर्जुनधारा नगरपालिकाको टिम क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोड ३ स्थित डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम प्रि क्वाटर फाइनल खेलमा दमक नगरपालिकालाई ७–० गोलको फराकिलो अन्तरले पराजित गर्दै अर्जुनधारा क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

अर्जुनधाराका लागि जेनिफर मगर एक्लैले ५ गोल गरिन् भने २ गोल मेनुका मगरको नाममा रह्यो । एकोहोरो दबाब झेलेको दमक विरुद्ध पहिलो हाफमै ६–० गोलको फराकिलो अन्तर अर्जुनधाराले निकालेको थियो ।

जसमा जेनिफरले ४ र मेनुकाले २ गोल गरेकी थिइन् । जेनिफारले खेलको ३, ७ र १७औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । यस्तै, २६ मिनेट र ५८औँ मिनेटमा जेनिफरले थप गोल गरेकी हुन् । मेनुकाले २० र २२औँ मिनेटमा गोल गरेकी थिइन् ।

जेनिफरले प्लेयर अफ द म्याच बन्दै नगद ५ हजार रुपैयाँ पुरस्कार पाइन् । उनलाई बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरी लगायतले पुरस्कार प्रदान गरे ।

भोलि आयोजक बिर्तामोड नगरपालिकाले पहिलो क्वाटरफाइनल खेलमा कनकाई नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ । फागुन ५ गते हुने फाइनल खेलको विजेताले ३ लाख रुपैयाँ पुरस्कारसहित आकर्षक ट्रफी पाउने छ । यस्तै, उपविजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ ।

सम्बन्धित खबर