![](https://sajhamanch.com/wp-content/uploads/2025/02/Nawajyoti-club-football-magh-25-scaled.jpeg)
बुद्धशान्ति । मिलन राईको ह्याट्रिक मद्दतमा सुनसरीको न्यु स्टार एफसी झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौँ संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
आज भएको पहिलो सेमिफाइनल खेलमा मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लबलाई ४–१ गोल अन्तरले हराउँदै न्यु स्टार उपाधिनजिक पुगेको हो ।
मिलनले ह्याट्रिक पूरा गर्ने क्रममा खेलको ३८औँ, पहिलो हाफको इन्ज्युरी र ५२औँ मिनेटमा गोल गरे । त्यस्तै, खेलको ७३औँ मिनेटमा सुशील राईले एक गोल थपे ।
दुवै टोलीले उत्कृष्ट मुभहरु बनाए पनि मोरङको फिनिसिङ कमजोर देखिएको थियो । मोरङका लागि दोस्रो हाफमा मैदान प्रवेश गरेका अस्बिन राईले ६३औँ मिनेटमा सान्त्वना गोल फर्काए ।
खेलको प्लेयर अफ द म्याच तीन गोलकर्ता मिलन राई भए । उनले नगद ७ हजार र ट्रफी पाए ।
प्रतियोगिताअन्तर्गत भोलि अन्तिम सेमिफाइनल खेल आयोजक नव ज्योति युथ क्लब र काठमाडौँको प्लानिङ ब्वाइजबीच हुने क्लबका उपाध्यक्ष भरत खतिवडाले जानकारी दिए ।
क्लबका अध्यक्ष गोपाल पोखरेलका अनुसार प्रतियोगिताको विजेताले नगद दुई लाख २५ हजार र उपविजेता टिमले नगद एक लाख २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
त्यस्तै, प्रतियोगिताको उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले नगद १० हजार तथा सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार रुपैयाँ पाउने छन् ।