२०८१ माघ २३, बुधवार , ०८:१०:१७ बजे

Sajhamanch
'

भद्रपुर झापा गोल्डकपको मुख्य प्रायोजकमा सौर्य एयर र ओमसाई पाथीभरा हस्पिटल रहने सम्झौता

बुधवार, माघ २३, २०८१

भद्रपुर । दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप २०८१ र सौर्य एयरलाइन्स तथा भद्रपुरको ओमसाई पाथीभरा हस्पिटलबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर)का रुपमा आज सम्झौतामा हस्ताक्षर गरिएको छ ।

हस्ताक्षरसँगै अब ‘सौर्य एयरलाइन्स तथा ओमसाई पाथीभरा हस्पिटल भद्रपुर झापा गोल्डकप’को रुपमा प्रतियोगिता सञ्चालन हुनेछ ।

यो संस्करण गोल्डकप कार्यसमितिका पूर्वसदस्य तथा पूर्वराष्ट्रिय खेलाडी गम्भीर राईको सम्मानस्वरुप ‘गम्भीर राई स्मृति संस्करण’का रुपमा प्रतियोगिता सञ्चालन हुनेछ ।

आज भएको सम्झौता पत्रमा भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल र सौर्य एयर तथा ओमसाई पाथीभरा हस्पिटलका तर्फबाट अध्यक्ष दिपक पोखरेलले हस्ताक्षर गरेका हुन् ।

यसैबीच, प्रतियोगितामा नेपाल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवम् सार्क चेम्बर अफ कमर्सका उपाध्यक्ष चण्डीराज ढकाल, नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक नवराज ढकाल, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका पूर्व अध्यक्ष टिकाराज ढकाल एवम् नेपाल उद्योग वाणिज्य महासंघका वर्तमान उपाध्यक्ष हेमराज ढकालले आफ्ना मातापिता रामरेखा तथा लक्ष्मण ढकालको स्मृतिमा प्रथम पुरस्कार प्रदान गरेका छन् ।

त्यस्तै, दोस्रो पुरस्कार अन्तर्राष्ट्रिय झापाली समाजले प्रदान गर्ने भएको छ । प्रतियोगिताको फाइनलमा टिकट काट्ने एकजना भाग्यशाली दर्शकलाई जगदम्बा मोटर्सले एक थान टिभिएस मोटरसाइकल उपहार प्रदान गर्नेछ ।

त्यस्तै, प्रत्येक दिन टिकट काट्ने एकजना भाग्यशाली दर्शकलाई महेन्द्ररत्न स्टोर बिर्तामोडका तर्फबाट एक थान हिमस्टार टिभीको व्यवस्था गरेको छ । प्रतियोगिता यही फागुन ७ गतेदेखि १६ गतेसम्म भद्रपुर–८ मा रहेको मेची रंगशालामा हुनेछ ।

रंगशालामा करिब २० हजार दर्शक बस्न सक्नेगरी स्थायी प्यारापिटको मर्मत तथा रङरोगन कार्य अन्तिम चरणमा पुगेको छ । त्यस्तै, बाँसको अस्थायी प्यारापिट निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको जनाइएको छ ।

दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकपको विजेताले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ प्राप्त गर्नेछन् । गोल्डकप सम्पन्न गर्न एक करोड ७८ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

सम्बन्धित खबर