बुद्धशान्ति । आठौँ संस्करणको नवज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिता २०८१ को तयारी पूरा भएको छ ।
बुद्धशान्तिस्थित जयपुरमा हुने प्रतियोगिताका लागि खेल मैदान सम्याउने काम सकिएको र बाँसको अस्थायी प्यारापिट निर्माण गरिएको अध्यक्ष गोपाल पोखरेलले जानकारी दिएका छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र मोरङ कानेपोखरीको नवप्रगति समाजसेवा क्लब खेल्ने छन् ।
प्रतियोगिताअन्तर्गत दोस्रो क्वार्टर फाइनल खेल आयोजक नवज्योति युवा क्लब र रेडहर्स एफसी इलामबीच हुने क्लबका उपाध्यक्ष खेमराज श्रेष्ठले जानकारी दिए ।
त्यस्तै, तेस्रो क्वार्टर फाइनल खेलमा भारतको सिलिगुडी युनाइटेडले न्यू स्टार एफसी सुनसरीका विरुद्धमा खेल्नेछ ।
अन्तिम क्वार्टर फाइनल खेल प्लानिङ ब्वाइज काठमाडौँ र मानेभञ्ज्याङ एफसी दार्जिलिङबीच हुने जनाइएको छ ।
नवज्योति युवा क्लबको आयोजनामा हुँदै आएको प्रतियोगिता माघ २१ देखि २८ गतेसम्म जयपुरस्थित आदर्श माध्यमिक विद्यालयको खेल मैदानमा हुने क्लबका सचिव मुकेश भट्टराईले बताए ।
क्लबका अध्यक्ष पोखरेलका अनुसार प्रतियोगिताको विजेताले दुई लाख २५ हजार रुपैयाँ र उपविजेता टिमले एक लाख २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
एलिस सप्लायर्स मुख्य प्रायोजक रहेको प्रतियोगिताको प्लेयर अफ द म्याचले सात हजार रुपैयाँ पाउने छन् ।
त्यस्तै, प्रतियोगिताको उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले १० हजार रुपैयाँ तथा सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ पाउने जनाइएको छ ।
सातौँ संस्करणको प्रतियोगितामा दार्जिलिङको मानेभञ्ज्याङ एफसीले बिर्तामोड युनाइटेड क्लबलाई हराउँदै उपाधि जितेको थियो ।
बुद्धशान्ति गाँउपालिका, २ नम्बर वडा कार्यालय, सिजनल टिकट, गेट टिकट, विज्ञापन, विभिन्न दाताहरुबाट स्रोत संकलन गर्ने लक्ष्य लिइएको प्रतियोगिता सम्पन्न गर्न ३१ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।