- सरोज भट्टराई
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा दमकलको सक्रियता र प्रभावकारिताले पछिल्लो समयमा ७७ स्थानमा भएका आगलागी नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।
शिवसताक्षी नगरपालिकाले स्थानीय बासिन्दाहरूको जीवन रक्षाका लागि दमकलको व्यवस्थापनलाई प्राथमिकतामा राख्दै आएको छ । शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले आफू निर्वाचत भए पश्चात पहिलो काम नै दमकल खरिद गर्ने निर्णय गरेका थिए ।
अघिल्लो आर्थिक वर्षमा ४० स्थान र चालू आव ३७ स्थानमा आगलागी नियन्त्रण गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।
दमकल टोलीका कमाण्डर नवराज लामिछानेका अनुसार दमकलले नगर भित्रमात्र नभई झापा जिल्ला र अन्य स्थानहरुमा समेत आगलागी नियन्त्रणको काम गर्दै आएको छ ।
विगतमा नगरपालिकामा दमकल नहुँदा यहाँका नागरिक आगलागीबाट ज्यान गुमाउनु परेको तीतो यतार्थ हामीसँग छ । शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ्ग थोप्राले भने, त्यसका कारण पनि नगरले नागरिकको जीऊ धनको सुरक्षाका लागि पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको छ ।
आगलागी नियन्त्रणका लागि प्राविधिक तालिम प्राप्त टोली र अत्याधुनिक उपकरणको प्रयोगले कामलाई सहज बनाएको छ । नगरपालिकाले समयमै दमकल परिचालन गर्न सकेका कारण धेरै ठूला दुर्घटनाबाट जोगाउन सकिएको नगरप्रमुख थोप्राको भनाई छ ।
नगरप्रमुख थोप्राका अनुसार नगरमा दमकल ल्याए पछि कसैले पनि आगलागीबाट ज्यान गुमाउनु परेको छैन भने ठूलो धनराशीको पनि क्षति भएको छैन ।
स्थानीय बासिन्दाहरूले पनि दमकल सेवाको प्रशंसा गर्दै नगरपालिका र दमकल टोलीलाई धन्यवाद दिएका छन् । समुदायमा तत्काल सहायता पुर्याएर दमकल सेवाले विश्वास जितेको नेपाल रेडक्रस सोसाइटी उपशाखा शिवसताक्षीका सभापति गोविन्द काफ्लेले बताए ।
‘प्राकृतिक प्रकोप, आगलागी, दुर्घटना लगायतका घटनाहरु रेडक्रस, प्रहरी, दमकल, एम्बुलेन्सजस्ता सेवाहरु एक अर्कामा परिपुरक भएकाले शिवसताक्षी नगरपालिकाले दमकलले दिएको सेवा प्रशंसायोग्य छ’ सभापति काफ्लेको भनाई छ । उनले आपतकालिन सेवालाई थप प्रभावकारी बनाउन दमकलका कर्मचारीहरुलाई थप तालिमको आवश्यक रहेकोसमेत जानकारी दिए ।
गएको पौष २० गते धार्मिक तथा पर्यटकीय क्षेत्रभित्र रहेको श्रीसताक्षीधाम गोवद्र्धन गौशालाको गाई गोठमा आगलागी भएको थियो । शिवसताक्षी नगरपालिकालको दमक चाँडै पुग्दा ठूलो क्षतिहुन बाट बचेको गोवद्र्धन गौशालाका अध्यक्ष तथा संरक्षक आचार्य नन्दकिशार भारद्वाजले जानकारी दिए ।
‘आगो लागेकोे १५ मिनेट मै शिवसताक्षी नगरपालिकाको दमकल आइपुग्यो । ठूलो क्षति हुन पाएन’, भारद्वाजले भने, ‘एउटा गाईको खुट्टामा आगोले भेट्टायो र सामान्य चोटमात्र लाग्न पायो ।’
गौशालामा कुटी काट्ने क्रममा विद्युत सर्ट भई आगो लागेको थियो । पहिले नगरमा दमकल नहँुदा दमक, बिर्तामोड, मेचीनगरबाट दमकल बोलाउनु पर्ने बाध्यता थियो । दमकल घटनास्थलमा पुग्दा नपुग्दै सबै खरानी भइसक्थ्यो । अहिले त्यस्तो अवस्था नभएको भारद्वाजले बताए ।
२०८१ भाद्र २ गते शिवसताक्षी ८ झिलझिले बजारमा रहेको मोहन मैनालीको घरमा आगलागी भएको थियो । जसमा समयमै दमकल आइपुग्दा घरको माथिल्लो भाग जल्दाजल्दै आगो नियन्त्रण गरियो । घर जल्न पाएन ।
शिवसताक्षीमा गाई गोठ, परालको कुन्यू, धानको कुन्यूमा बढी आगलागी भएको पाइएको छ । दमकलका चालक हरिकृष्ण घिमिरेका अनुसार छिटपुटरुपमा मात्रै घरमा आगलागी भएका छन् ।
दमकलका कर्मचारीहरु सधैं तैनाथ अवस्थामा रहने आगलागी भएको सूचना पाए लगत्तै घटनास्थलमा पुग्ने गरिएको छ । नगरपालिकाको दमकलले नेपालमा मात्रै होइन भारतको डाकुपाडा भन्ने स्थानमा समेत आगालागी हुँदा सेवा प्रवाह गरेको चालक घिमिरेको भनाई छ ।
२०७५ साल मंसिर ९ गते राति शिवसताक्षी ७ स्थित लालझोडामा खनालको घरमा आगलागी हुँदा समयमा दमकल नआउँदा शिशुसहित एउटै परिवारका सबै ४ जनाले ज्यान गुमाउनु परेको तीतो घटनाले आगलागी र दमकल यहाँका बासिन्दाको पर्याय जस्तै बनेको थियो ।