२०८१ माघ ८, मङ्गलवार , ०९:०१:४५ बजे

Sajhamanch
'

खेल संघ-संस्थालाई दर्ता हुन झापा जिल्ला खेलकुद विकास समितिको आह्वान

बिहिवार, पौष १८, २०८१

झापा । झापा जिल्ला खेलकुद विकास समितिले जिल्लामा क्रियाशील खेलसँग सम्बन्धित संघ–संस्थाहरुलाई समितिको कार्यालयमा दर्ता तथा आबद्ध हुन आह्वान गरेको छ ।

झापा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख विष्णुकुमार नेम्बाङले कोशी प्रदेश खेलकुद विकास बोर्डले खेलकुद क्षेत्रको विकासका लागि चालू आर्थिक वर्षमा खेल संघ तथा खेल संस्थाहरुका लागि खेलकुद प्रतियोगिताको आधारमा अनुदान कार्यक्रम घोषणा गरेकोले यस्तो तयारी गरिएको बताए ।

उनका अनुसार अनुदान प्राप्तिका लागि सम्बन्धित कार्यालयमा दर्ता तथा आबद्धता हुनुपर्ने प्रावधान अनुसार जिल्लाका खेल संघ संस्थाहरुलाई दर्ता तथा आबद्धताका लागि आह्वान गरिएको नेम्बाङले जानकारी दिए ।

कोशी प्रदेश खेलकुद विकास बोर्डले ‘खेल संस्थालाई मापदण्डमा आधारित अनुदान सहायता वितरण सम्बन्धी कार्यविधि २०८१’ जारी गरिसकेको छ । त्यसैको आधारमा शर्तहरु पूरा गर्ने खेल संस्थाहरुलाई अनुदानको घोषणा भएको हो ।

सो अनसुार अन्तर्राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता सञ्चालनका लागि बढीमा २८ लाख, राष्ट्रियस्तरको लागि बढीमा २० लाख, प्रदेशस्तरको लागि बढीमा १५ लाख, जिल्लास्तरको लागि बढीमा १० लाख र स्थानीयस्तरको खेलकुद प्रतियोगिता सञ्चालनका लागि बढीमा सात लाख रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय गरेको बताइएको छ ।

बोर्डले अनुदानका लागि आवश्यक कागजातसहित १५ दिनभित्र प्रस्ताव पनि पेश गर्न पुस ८ गते सूचना सार्वजनिक गरेको नेम्बाङले बताए ।

खेलकुद क्षेत्रमा निरन्तर क्रियाशील संघ-संस्थाहरुका लागि प्रदेश खेलकुद विकास बोर्डले सार्वजनिक गरेको अनुदान कार्यक्रम एउटा सुनौलो अवसरको रुपमा आएको बताउँदै झापा जिल्ला खेलकुद विकास समितिका अत्तयक्ष भेषराज भण्डारी ‘प्रशान्त’ले यो अवसरको उपयोग गर्न झापाका खेल संघ तथा संस्थाहरुलाई आग्रह गरेका छन् ।