२०८१ पौष ७, आइतवार , ०२:२१:४६ बजे

Sajhamanch
'

झापाका कविता र रुविनालाई नेपाल जेसीजको ‘उत्कृष्ट युवा पुरस्कार’

आइतवार, पौष ७, २०८१

इटहरी । झापाको मेचीनगरका दुई महिला नेपाल जेसीजको उत्कृष्ट युवा पुरस्कारबाट पुरस्कृत भएका छन् ।

शनिबार इटहरीमा उद्घाटन गरिएको नेपाल जेसीजको ५१औँ राष्ट्रिय महाधिवेशनमा सामाजिक अभियन्ता कविता नेपाल पार्तेल र राष्ट्रिय महिला क्रिकेटका कप्तान रुविना क्षेत्री सम्मानित भएका हुन् । उनीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले जनही २० हजार नगदले पुरस्कृत गर्दै सम्मानपत्र हस्तान्तरण गरे ।

जातीय छुवाछुत हटाउने अभियान र सामाजिक परिवर्तनको क्षेत्रमा योगदान पुर्याए वापत प्रदान गरिने उत्कृष्ट युवा पुरस्कार कविता नेपाललाई प्रदान गरिएको बाहुनडाँगी जेसीजका अध्यक्ष देबु बानियाँले जानकारी दिएका हुन् ।

त्यस्तै नेपाल जेसीजले राष्ट्रिय तथा अनतराष्ट्रिय क्षेत्रमा ख्याती कमाएकी राष्ट्रिय महिला क्रिकेटकी कप्तान रुविना क्षेत्रीलाई उत्कृष्ट युवा पुरस्कारले सम्मान गरेको छ । पुरस्कृत नेपाललाई बाहुनडाँगी जेसीजले र क्षेत्रीलाई सुरुङ्गा जेसीजले सिफारिस गरेको अध्यक्ष बानियाँले बताए ।

कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री ओली र नेपाल जेसीज वर्ष २०२४ का राष्ट्रिय अध्यक्ष रविन पोखरेलले दुवैजना प्रतिभाहरुलाई सम्मान गरेका थिए ।

यही पुस ६, ७ र ८ गतेसम्म सञ्चालन हुने राष्ट्रिय महाधिवेशनले वर्ष २०२५ का लागि नयाँ नेतृत्व चयन गर्दैछ ।