२०८१ माघ २५, शुक्रवार , ०२:०५:५९ बजे

Sajhamanch
'

राहत कोषमा खरेलले दिए २१ हजार सहयोग

मङ्गलवार, पौष २, २०८१

बिर्तामोड । औषधि व्यवसायी, लायन्स क्लव अफ बिर्तामोडका अध्यक्ष, रिभर साइड युथ फउण्डेशनका उपाध्यक्ष, नेकपा एमाले बिर्तामोड वडा नं ४ का अध्यक्षसमेत रहेका प्रदीप खरेलले आज आफ्नो जन्म दिन बिर्तामोड उद्योग वाणिज्य संघमा मनाएका छन् ।

व्यवसायीको हितका लागि बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी राहत कोष’ का लागि २१ हजार एक रुपैयाँ सहयोग गर्दै खरेलले आफ्नो जन्म दिन संघको कार्यालयमा मनाएका हुन् ।

बिर्तामोड उद्योग वाणिज्य संघले एक करोड रुपैयाँको अक्षयकोष स्थापना गरेसंगै खरेल रकम प्रदान गर्न श्रीमती पवित्रादेवी शिवाकोटी खरेललाईसंगै लिएर संघको कार्यालय आएका थिए । सो क्रममा संघले खरेलको जन्मोत्सव मनाइदिएको हो ।

बिर्तामोड वडा नम्वर ३ का वडाध्यक्ष मदन बुढाथोकीको समेत उपस्थितमा खरेलको जन्मदिन संघले केक काटेर मनाइदिएको थियो भने उनलाई कदरपत्रद्वारा सम्मानसमेत गरिएको थियो ।

खरेलले राहत कोषका लागि सहयोग रकम प्रदान गरेसंगै उनको सहयोगको उच्च प्रशंसा गर्दै संघका अध्यक्ष राजु न्यौपानेले खरेललाई कदरपत्र प्रदान गरेका थिए ।

राहत कोषका लागि सहयोग रकम प्रदान गर्न आएका खरेललाई संघको वैठक कक्षमा राखेर राखेर जन्मदिन मनाउँदै कदरपत्र प्रदान गर्दा प्रदीप फार्मेसीका सञ्चालकसमेत रहेका प्रदीप मात्र होइन उनकी श्रीमती पवित्रासमेत अवाक भएकी थिइन् ।

त्यसो त बिर्तामोड उद्योग वणिज्य संघले खरेलको मात्र होइन राहत कोषका लागि सहयोग गर्न आउने अधिकांशको जन्म दिन त्यसैगरी मनाउने गरेको छ । राहत कोषका लागि थोर थोरै रकम संकलन गर्दै भएपनि आफ्नो कार्यकालमा कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने लक्ष्यसहित संघको यो नेतृत्व अघि बढेको संघका महासचिव कुशल खतिवडाले बताए ।

खरेलको जन्म दिन संघको कार्यालयमा मनाउँदा वडाध्यक्ष बुढाथोकी र संघका पदाधिकारीसहित उपस्थित सदस्यले शुभकामना दिएका थिए ।

सम्बन्धित खबर