२०८१ पौष १, सोमवार , ११:०५:३५ बजे

Sajhamanch
'

रविविरुद्धको अनुसन्धान पूरा, मुद्दा दायरको तयारी

सोमवार, पौष १, २०८१

काठमाडौं । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपलचनको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित पाँच जनाविरुद्ध प्रहरीले अनुसन्धान पूरा गरेको छ।रास्वपा सभापति लामिछाने, पूर्वडीआईजी छविलाल जोशी, सहकारीका सञ्चालक समिति सदस्य कृष्ण गुरुङ र जीबी राईनिकट लिला पछाइँसहित ५ जनाविरुद्धको अनुसन्धान पूरा गरी मंगलबारसम्म रायसहितको प्रतिवेदन बुझाउने तयारी प्रहरीले गरेको हो।

उनीहरुविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अभियोजनका लागि सिफारिस गर्ने जिल्ला प्रहरी कार्यालय कास्कीको तयारी छ ।

आगामी ६ पुससम्म मुद्दा अदालतमा पुर्‍याउनुपर्ने भएकाले मंगलबारसम्म प्रहरीले अनुसन्धान प्रतिवेदन दिए त्यसैका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले अभियोजन लैजाने छ।सूर्यदर्शनको १ अर्ब ११ करोड अपचलन भएकोमा साढे १० करोड गोर्खा मिडिया ग्रुपमा आएको महानगरपालिका र संसदीय विषेश छानविन समितिको प्रतिवेदनमा उल्लेख छ। त्यसमध्ये १ करोड रुपैंयाँ लामिछानेको नामबाट आएको उल्लेख छ।

सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्धा दायर गरेपछि थुनछेक बहस हुनेछ । जसले लामिछानेसहितका आरोपीलाई थुना बाहिर राख्ने या कारागार पठाउने भन्ने टुंगो लाग्ने छ।

सूर्यदर्शन सहकारीको रकम अपचलनमा सहकारीका सञ्चालक एवं गोर्खा मिडिया ग्रुपका कुमार रम्तेलसहित ६ जनालाई पहिले नै पक्राउ गरिएकोमा अहिले पुर्पक्षका लागि हिरासतमा छन्।सोही प्रकरणको पुरक मुद्दाका लागि पूर्वडीआइजी जोशीलाई गत असोज ६ र रास्वपा सभापति लामिछानेलाई कात्तिक २ गते पक्राउ गरिएको थियो।जोशी र लामिछानेसहित दोस्रो चरणमा पक्राउ परेकाविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गरिरहेको थियो। सहकारीको रकम अपचलनका मुख्य आरोपी जीबी राई भने फरार छन। उनीविरुद्ध इन्टरपोलमार्फत रेड नोटिस जारी भैसकेको छ भने राहदानी रोक्का गरिएको छ।

सूर्यदर्शन सहकारीको रकम अपचलनमा ६० जना आरोपी छन् जसमध्ये ५१ जनाविरुद्ध पक्राउ पुर्जी जारी भैसकेको छ।

सम्बन्धित खबर