मेचीनगर । मेचीनगर नगरपालिकाले आगामी पुस १ गतेदेखि नगरका अपाङ्गता भएका व्यक्तिहरुको विशेष स्वास्थ्य परीक्षण गराउने भएको छ ।
नगरपालिकाले वडा वडामा नै विशेषज्ञ डाक्टरसहित स्वास्थ्यकर्मीको टोली पुर्याएर उनीहरूको स्वास्थ्य परीक्षण गर्ने भएको हो ।
नगरपालिकाले अभियान कै रूपमा पुस १ गतेदेखि १५ गतेसम्म प्रत्येक वडामा अपाङ्गता भएका व्यक्तिहरुको विशेष स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण गरिने कार्यक्रम रहेको नगरपालिकाको कार्यालयले जनाएको छ।
प्रत्येक वडामा एक एक दिन सञ्चालन हुने गरी आयोजित १५ दिने कार्यक्रम अन्तर्गत १ नं वडाबाट उद्घाटन भई कार्यक्रम २, ३, ४, ५ हुँदै क्रमश १५ गते वडा नं १५ मा पुगेर सम्पन्न गरिने जनाइएको छ ।
मेचीनगरका प्रमुख गोपालचन्द्र बुढाथोकी शारीरिक अशक्त एवम् अपांगता भएको मानिसलाई हेर्ने दृष्टिकोण समाजमा अझै पनि गलत रहेकोले त्यसलाई चिर्न आवश्यक रहेको बताउँछन् । समाजमा त्यस्ता गलत प्रबृत्ति अन्त्य गर्न आवश्यक छ । मानवीय चिन्तनको चेत सही कार्यका लागि लगाउँदै समाजका सबैले अशक्त एवम् अपांगता भएको मानिसहरुलाई सभ्य व्यवहार गर्नुपर्ने आवश्यकता औंल्याउँदै नगरपालिकाले उनीहरुको लागि विशेष स्वास्थ्य परीक्षण सञ्चालन गरिएको बताए ।
स्थानीय सरकारको हैसियतले मेचीनगर, कोशी प्रदेश सरकार र करुणा फाउण्डेशन बीच एक करोड ४२ लाखको त्रिपक्षीय सम्झौता गरी मेचीनगरमा अपांगता भएको मानिसहरु तथा नवजात शिशुको जाँचमा वृद्वि, बाल स्वास्थ्यमा सुधार, अपाङ्गता भएका व्यक्तिहरुको जीवनको गुणस्तरमा सुधार, शिक्षामा पहुँच वृद्धि, परिवारको सशक्तिकरण र जीविकोपार्जनमा सुधार, सामाजिक क्रियाकलापमा पहुँच वृद्धि, क्षमता अभिवृद्धिमा सहयोग, प्रशासन तथा व्यवस्थापन सुदृढीकरणमा सहयोग लगायतको कार्यक्रमहरु सञ्चालन गर्ने नगरप्रमुख बुढाथोकीले जानकारी दिए ।