- बिनोद सापकोटा
झिलझिले (शिवसताक्षी) । जङ्गल क्षेत्रबाट दिनहुँ गाउँ पस्ने जङ्गली हात्तीको हुल रोक्न झापाको शिवसताक्षीमा रात्रीकालिन गस्ती गर्न थालिएको छ ।
हुलमा आउने जङ्गली हात्ती रोक्न शिवसताक्षी नगरपालिका वडा नं ८ ले समिति नै गठन गरेर रात्रिकालीन गस्ती शनिबारदेखि सुरु गरेको हो । गस्ती टोलीमा कम्तिमा २५ युवा परिचालित छन् ।
गस्ती टोलीमा अधिकांश युवा छन् । महिनौंदेखि हात्तीले शिवसताक्षी नगरका केही वडामा आतंक मच्चाउन थालेपछि नगरमा पहिलोपटक वडा नम्बर ८ ले रात्रिकालीन गस्ती सुरु गरेको हो ।
समितिको मुख्य काम हात्ती गाउँ पस्ने गौंडामा बसेर गाउँलेलाई सूचना दिनु हो । हातेमाइक, सिटी र आकस्मिक काममा प्रयोग गरिने साइरन बजाएर स्थानीयलाई गाउँमा हात्ती पसेको सूचना दिने समितिको मुख्य कर्तव्य रहेको वडाध्यक्ष सन्तकुमार फेउदिनले बताए । वडा नम्बर ८ को झिलझिले, थेचम्बु, बुद्धचोक, डुँडामारी र फुलबारी चोकको गौंडा प्रयोग गरेर दिनहुँ जङ्गली हात्ती गाउँ पस्ने गरेका छन् ।
स्थानीयका अनुसार कुनै दिन एउटा मात्र बयस्क हात्ती गाउँ पस्छ भने कुनै दिन हुल नै बाँधेर हात्ती आउने गरेका छन् । गाउँमा हात्ती पसेपछि घरमा भण्डारण गरेका अन्नपात खाने, बालीनाली कुल्चिएर नष्ट गर्ने र घर भत्काउनेसम्म गर्ने गरेका छन् । कतिपय स्थानीयले हात्ती पसेको थाहा पाएपछि बालबालिका चेपेर घर छोड्ने गरेका छन् ।
गस्ती टोली परिचालित भएपछि स्थानीयलाई ढुक्कले सुत्न वडाध्यक्ष फेउदिनले आग्रह गरे । ‘हात्ती आएको सूचना हामी तपाईँहरूलाई उपलब्ध गराउँछौँ । त्यतिन्जेल ढुक्कले सुत्नुहोस्,’ उनले भने । पूर्वपश्चिम राजमार्ग उत्तरको रतुवामाई वृक्षरोपण आयोजनाको जङ्गलमा दिनभर बस्ने र रात परेपछि गाउँ पस्ने हात्तीले स्थानीय आतङ्कित बनेको नगरपालिकाका उपप्रमुख नरमाया कार्कीले बताइन् ।
हात्तीबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि वडा नम्बर ८ ले रात्रिकालीन गस्ती सुरु गरेपछि स्थानीय हात्ती पीडितले राहत महसुस गरेका छन् । वडा नम्बर ८ झिलझिलेका बालकृष्ण अधिकारीले भने, ‘गस्तीले सूचना नगरुञ्जेल ढुक्कले सुतिन्छ ।’
चारवटा समूहमा गस्ती टोली परिचालित हुन्छ । हात्ती पस्ने गौंडामा गस्ती टोली बस्ने र हात्ती आएको देखिएमा गाउँलेलाई सूचना प्रदान गर्ने समितिको योजना छ । वडाध्यक्ष फेउदिनको नेतृत्वमा गठित समितिमा प्रहरी, रेडक्रसकर्मी, पत्रकार, स्थानीय बजार विकास समिति लगायतबाट प्रतिनिधि समेटिएका छन् ।
सो समितिमा सब डिभिजन वन कार्यालयका कर्मचारी, सशस्त्र प्रहरी पनि सम्मिलित छन् । स्थानीयबासीले हात्तीलाई गाउँ पस्न नदिन संयुक्त गस्ती सुरु गरेको वडा सचिव पुष्पलाल पाण्डेले जानकारी दिए ।
जङ्गलमा आहारा नपाए पछि त्यसैका लागि हात्ती गाउँ पस्ने गरेका हुन् । हात्तीको बासस्थान जङ्गल क्षेत्रमा अतिक्रमण भएका कारण आफ्नो जीवन रक्षाका लागि हात्ती गाउँ पस्ने गरेको विज्ञहरू बताउँछन् । हात्ती संरक्षण अभियानमा जुटेकाले हात्तीको चरण क्षेत्रमा केरा, पिपल लगायत उसलाई मनपर्ने बोट बिरुवा जंगल क्षेत्रमा रोप्नुपर्ने अभियन्ताले बताउदै आएका छन् ।