मेचीनगर। झापाको बिर्तामोडमा स्थापित सनलाइट इन्भेस्टमेन्ट प्रालिले आफ्नो आठौं वार्षिक साधारण सभा शनिबार सम्पन्न गरेको छ।
कम्पनी परिसर चारआलीमा आयोजित साधारण सभामा आर्थिक वर्ष २०८०/८१ मा १० करोड ४ लाख बराबरको कारोबार गरी ३७ लाख ५० हजारभन्दा बढी नाफा कमाएको जानकारी दिइएको छ। इन्भेष्टमेन्ट कम्पनीले पूर्वी नेपालमा सिसा र सिसाजन्य वस्तुहरूको थोक कारोबार गर्दै आएको छ।
प्रालिका अध्यक्ष पदम भट्टराईको अध्यक्षतामा आयोजित साधारण सभामा उनले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, सचिव युवराज निरौलाले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक भरतकुमार भट्टराईले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
झापाका लब्ध प्रतिष्ठित उद्योगी, व्यवसायी तथा कर्मचारीहरू मिलेर आठ वर्ष अगाडि कम्पनीको स्थापना गरेका थिए। कम्पनीले साविक मेची अञ्चलका सम्पूर्ण क्षेत्र तथा मोरङ जिल्लाका पूर्वी भागमा सिसाजन्य वस्तुहरूको कारोबार गर्दै आएको छ।
प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष भट्टराईले संस्थाको सेयर पूँजी ७ करोड ४७ लाख १६ हजार २५० रहेको जानकारी दिए । प्रालिले आगामी दिनमा आफ्नो व्यापारलाई विस्तार गर्ने र सेयर पुँजीलाई १० करोड पुर्याउने योजना रहेको जानकारी दिए ।
सो प्रालिमा ६३ जना शेयर सदस्य रहेका छन्। साधारण सभाको उद्घाटन सत्रमा प्रमुख अतिथि वरिष्ठ अधिवक्ता गजेन्द्र आचार्यले कम्पनीहरूले पालन गर्नुपर्ने कानुनी प्रावधानहरूको बारेमा जानकारी गराए ।
कार्यक्रममा प्रालिका सल्लाहकार सदस्य मोहन शिवाकोटी, युवराज पाण्डे, लक्ष्मण खतिवडा र सदस्य रिङकुमार आचार्य लगायतले प्रालिको कारोबार र व्यवस्थापनको विषयमा आआफ्नो सुझाव राखेका थिए ।
कम्पनी सञ्चालक समितिका सदस्य तुलसीनाथ पौडेलले कार्यक्रमको सञ्चालन गरेका थिए भने आमन्त्रित अतिथि एवम् सेयर सदस्यहरुलाई सञ्चालक समितिका उपाध्यक्ष दुर्गा थपलियाले शाब्दिक स्वागत गरेका थिए ।