२०८१ पौष ८, सोमवार , ०९:४५:४५ बजे

Sajhamanch
'

कांग्रेसको १०० दिने अभियान : झापामा ५० प्रतिशत सम्पन्न

शुक्रवार, मंसिर २१, २०८१

बिर्तामोड । टोल र वडा बलियो भएमात्रै पार्टी संगठन बलियो हुन्छ भन्ने नीति लिएको नेपाली कांग्रेसले थालेको एक सयदिने अभियान अन्तरगत झापाका ५० प्रतिशतभन्दा बढी वडा समितिले वडा भेला सम्पन्न गरेका छन् ।

संगठनलाई चलायमान बनाउँदै सुदृढीकरण अभियान अन्तरगत तहगत बैठक, भेला, सम्मेलन, विविध रचनात्मक कार्यक्रमसहित असोज ७ गतेदेखि पौष १६ गतेसम्मका लागि कांग्रेसले एक सयदिने अभियान थालेको थियो । यस अभियान अन्तरगत ५० प्रतिशत बढी वडामा वडा भेला सम्पन्न गरिएको हो ।

नेपाली कांग्रेस केन्द्रीय समितिको निर्देशन र नेपाली कांग्रेस झापाको यसअघि सम्पन्न बैठकको निर्णय बमोजिम झापाका १५ वटा पालिकाका सबैजसो वडाहरुमा वडाभेलाको तयारीका लागि टोल समिति एवं वडा समिति बैठक सम्पन्न भएको छ भने ५० प्रतिशत वडाले भेला पनि सम्पन्न गरेका हुन् ।

यसैक्रममा आज नेपाली कांग्रेस दमक नगरसमिति अन्तरगतका ४ र ५, कमल–४, शिवसताक्षी–१, बुद्धशान्ति–३, भद्रपुर ४ र ८, कचनकवल–१, बाह्रदशी–७, बिर्तामोड–६ मा वडास्तरीय भेला सम्पन्न भएका छन् ।

दमक वडा नं. ५ मा आयोजित वडाभेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले वडातहको संगठन बलियो भएमात्रै पार्टी बलियो हुने बताउँदै वडातहमा जिल्ला प्रतिनिधिहरु खटाइएको जानकारी दिए ।

नेपालमा भएका सबै परिवर्तनहरुमा नेपाली कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको बताउँदै उनले जनजीविका, विकास निर्माण र समुदायको आवश्यकता बमोजिम सामाजिक कार्य गर्न सबैलाई आग्रह पनि गरेका थिए ।

सम्बन्धित खबर