२०८१ मंसिर ३, सोमवार , ०८:१०:४४ बजे

Sajhamanch
'

सभामुख घिमिरेसमक्ष चिया ऐन बनाउन व्यवसायीहरुले गराए ध्यानाकर्षण

सोमवार, मंसिर ३, २०८१

झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले चिया क्षेत्रका समस्या सम्बोधनका लागि आवश्यक समन्वय एवं पहल गर्ने बताएका छन् ।

सोमबार बिर्तामोडमा भएको छलफलमा सभामुख घिमिरेले चिया क्षेत्रका कतिपय समस्या पहिलो पटक थाहा भएकोमा आश्चार्य प्रकट गर्दै समस्या सम्बोधनका लागि आफूले पहल गर्ने बताएका हुन् ।

प्रादेशिक चिया समन्वय समितिको तर्फबाट कार्यक्रममा सभामुख घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाइएको थियो । चिया ऐन निर्माण, विनियोजित बजेट कार्यान्वयन लगायत विषयमा झापाका चिया सरोकारवालाले सभामुख घिमिरेको ध्यानाकर्षण गराएका हुन् ।

गृहजिल्ला झापा आएका सभामुख घिमिरेलाई उनको बिर्तामोडस्थित निजी निवासमा सोमबार बिहान भेट गरेर लिखित पत्रसहित ध्यानाकर्षण गराइएको प्रादेशिक चिया समन्वय समितिका संयोजक आदित्य पराजुलीले जानकारी दिए ।

नेपालमा चिया रोपण भएको १६१ वर्ष पुग्दासमेत चिया ऐन निर्माण नभएको उनीहरुले सभामुख घिमिरेलाई अवगत गराएका थिए । ४ अर्ब विदेशी मुद्रासहित वार्षिक करिब ११ अर्बको आर्थिक कारोबार हुने चिया क्षेत्र ऐन कानुनको अभावमा व्यवस्थित गर्न नसकिएको उनीहरुको भनाई थियो । संयोजक आदित्य पराजुलीले चिया ऐन निर्माणमा पहल गर्न सभामुख घिमिरेलाई आग्रह गरेका हुन् ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका प्रमुख इन्द्रप्रसाद अधिकारीले कोशी प्रदेश सरकारले विनियोजन गरेको बजेट कार्यान्वयनका लागि संघ र प्रदेश सरकारबीच एमओयू गर्नुपर्ने बताए ।

एमओयूका लागि प्रदेश सरकारको कृषि मन्त्रालय तयार रहेकाले संघीय कृषि मन्त्रालयमा समन्वय गरिदिन सभामुख घिमिरे समक्ष अधिकारीले आग्रह गरेका हुन् । दुई सरकारबीच एमओयू हुन नसके यो वर्ष पनि प्रदेश सरकारले विनियोजन गरेको २ करोड ६५ लाख रुपैयाँ कार्यान्वयन हुने अवस्था नरहेको क्षेत्रीय प्रमुख अधिकारीले सभामुखलाई अवगत गराए । ऐन कानुन नहुँदा गत आर्थिक वर्षमा कोशी प्रदेश सरकारले चिया क्षेत्रका लागि विनियोजन गरेको ४ करोड १० लाख रुपैयाँ फ्रिज भएको थियो ।

ध्यानाकर्षण पत्र बुझ्दै सभामुख घिमिरेले चिया क्षेत्रको समस्या समाधानमा पहल गर्ने आश्वासन दिए । चिया ऐन निर्माण तथा चिया क्षेत्रको लागि विनियोजित बजेट कार्यान्वयनमा पहल तथा समन्वय गर्ने उनको आश्वासन थियो । ‘तपाईहरुको ध्यानाकर्षण पत्रले केही खुसी मिल्यो । केही कुराहरु अनौठो लाग्यो’ उनले भने, ‘अहिलेसम्म चिया ऐन बनेको छैन भन्ने कुरा अनौठो लाग्यो । ऐन बनाउने कुरामा मेरो तर्फबाट पूरै पहल हुनेछ ।’

कार्यक्रममा चिया समन्वय समितिका सदस्य सचिव हर्कबहादुर तामाङ, सदस्य कृष्णप्रसाद पोखरेल, सीता सापकोटा, सन्त राई, नेकपा एमाले झापाका जिल्ला अध्यक्ष प्रेम गिरी, एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई लगायतको सहभागिता थियो ।

सम्बन्धित खबर