बिर्तामोड । नेपाल दशनामी समाज बिर्तामोड नगर समितिले दुई जना बिरामीलाई आर्थिक सहयोग गरेको छ ।
दुवै मिर्गौला खराब भएर उपचाररत एक र प्यालाइसिस भएर थलिएका अर्का एक गरी दुईजना बिरामी दशनामी बन्धुहरुलाई समाजले आज आइतबार सहयोग प्रदान गरेको हो ।
समाजको नगर समितिले गत तिहारमा आयोजना गरेको देउसीभैलोबाट संकलित रकमबाट उनीहरुलाई आर्थिक सहयोग गरेको जनाइएको छ ।
मिर्गौला पीडित मेचीनगर ४ बाहुनडाँगीका भक्तबहादुर भारतीलाई बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा पुगेर ११ हजार १०० रुपैयाँ र प्यारालाइसिस भएर हिंडडुल गर्न नसक्ने बिर्तामोड २ बेलडाँगीका ४६ वर्षीय राजन गिरीको घरमै पुगेर ५ हजार १०० रुपैयाँ नगर समितिले आर्थिक सहयोग गरेको हो ।
आर्थिक अवस्था कमजोर भएर उपचार गर्न समस्या झेल्दै गरेका दुवै बिरामीलाई केही राहत होस् भन्ने उद्देश्यले थोरै भएपनि आर्थिक सहयोग गरेको समाजका नगर अध्यक्ष खड्गराज गिरीले जानकारी दिए । बिर्तामोड नगरको नयाँ नेतृत्वले बन्धुहरुलाई परेको समस्यामा साथ र सहयोगलाई निरन्तरता दिँदै आएको जनाइएको छ ।