२०८१ मंसिर ६, बिहिवार , ०६:०६:२८ बजे

Sajhamanch
'

नगर अस्पताल सञ्चालन सहयोगार्थ चुलाचुलीमा समावेशी श्रीमद्भागवत सप्ताह महापुराण सुरु

मङ्गलवार, कार्तिक २७, २०८१

चुलाचुली । इलामको चुलाचुलीस्थित चुलाचुली नगर अस्पताल सञ्चालन सहयोगार्थ समावेशी श्रीमद्भागवत सप्ताह महापुराण तथा ज्ञान महायज्ञ सुरु भएको छ ।

कार्तिक २६ गतेदेखि मंसीर ३ गतेसम्म चुलाचुली–२ बाह्रगोठेस्थित अस्पताल परिसरमा सुरु भएको समावेशी श्रीमद् भागवत महापुराणको चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङले उद्घाटन गरे । उनले गाउँपालिकाले तयार पारेको पालिका गानाको स्वीच अन गरेर महायज्ञको उद्घाटन गरेका हुन् ।

चुलाचुली अस्पतालमा अक्षय कोषको व्यवस्था गर्ने, स्वास्थ्यको पहुँच नभएका नागरिकहरूमा सुलभ स्वास्थ्य सेवाको पहुँच पुर्याउने, चौबीसै घण्टा अस्पतालबाट नागरिकहरूमा सेवा प्रवाह गर्नुका साथै एकै मञ्चमार्फत सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुताको सन्देश प्रवाह गर्ने, विभिन्न भाषा साहित्य संगीत र मौलिकताका क्षेत्रमा काम गर्ने बौद्धिक व्यक्तिहरूको पहिचान गरी सम्मान गर्ने लगायत उद्देश्य राखेर महायज्ञको आयोजना गरिएको हो ।

पुराण सम्पन्नसँगै आगामी मंसीर २ गतेवाट अस्पतालको सेवा विधिपूर्वक सञ्चालनमा ल्याइने जनाइएको छ । स्वास्थ्य मन्त्री प्रदिप पौड्यालको प्रमुख आतिथ्य र इलाम क्षेत्र नं २ संघीय सांसद सुहाङ नेम्बाङको विशेष आतिथ्यमा अस्पताल समुद्घाटन गरिने अस्पताल प्रशासनले तयारी गरेको छ ।

पुराण आयोजक समितिका संयोजक जनक कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघ सस्थाका प्रतिनिधि, स्थानीयबासी लगायतको उपस्थिति थियो ।

औपचारिक कार्यक्रम सुरु गर्नुभन्दा पहिले शिक्षक, विध्यार्थी, विभिन्न संघ सस्थाका प्रतिनिधिहरु, कीर्तन मण्डली, स्थानीयबासीको उपस्थितिमा झाँकीसहित विभिन्न मन्दिर, गुम्बा, किरात हाङसाम साम्योक माङहिम चर्च वरिपरी कलश यात्रा गरिएको थियो ।

सम्बन्धित खबर

याङरुप विमोचित
शुक्रवार, कार्तिक २३, २०८१
भद्रपुरमा छठ पूजासहित गंगा आरती
बिहिवार, कार्तिक २२, २०८१