२०८१ माघ १४, सोमवार , ०२:४५:४८ बजे

Sajhamanch
'

याङरुप विमोचित

शुक्रवार, कार्तिक २३, २०८१

बिर्तामोड । क्यान्सर जितेका झापाका शिक्षक ज्ञानु बुढाथोकीको सामाजिक उपन्यास ‘याङरुप’ शुक्रबार बिर्तामोडमा विमोचन गरिएको छ ।

साहित्यकार कृष्ण धराबासी, भाषाविद् प्राडा टङ्क न्यौपाने, प्राडा बद्रीविशाल पोखरेल, मुन्धुम अध्येता मधु केरुङ, डा. बालचन्द्र सुब्बा, अग्रज पत्रकार चन्द्र भण्डारी र समालोचक तारा विविधले उक्त उपन्यास ‘याङरुप’को संयुक्त विमोचन गरिदिएका हुन् ।

झापाली साहित्य समाज र सप्तक संगीत विद्यालयले आयोजना गरेको विमोचन कार्यक्रममा बोल्दै साहित्यकार धराबासीले ‘याङरुप’ माटोको सुगन्ध बोकेको उत्कृष्ट आख्यानात्मक कृति रहेको औंल्याए ।

विर्तामोडको देवी माध्यमिक विद्यालयका शिक्षक बुढाथोकीले फोक्सोको क्यान्सरसँंग जुधिरहेका बेला चार वर्ष मिहेनत गरेर उपन्यास लेखेको बताए ।

“क्यान्सरको बायुपंखी घोडा चढेर काल आधाबाटो आइसकेको थियो,” आफ्नो भनाई राख्दै लेखक बुढाथोकी भन्छन् “मैले आफू सुत्ने ओछ्यानमा सिरानीलाई सुताएर ब्ल्याङ्केट ओढाइदिएँ । आफू भने कथा लेख्न लेखकको अनुहार लगाइटोपलेँ । काल आयो, मेरो नजिक पनि आयो । तर मलाई नचिनेर अल्मलियो, जुन आजसम्म पनि झुक्किरहेकै छ ।”

समीक्षक एवम् मुन्धुम अध्येता मधु केरुङले पूर्वी नेपालको याङवरक गाउँपालिकामा रहेको याङरुप गाउँलाई केन्द्रविन्दु बनाएर लेखिएको उपन्यासमा अगाध देशप्रेम झल्किएको बताए । उपन्यासमा लिम्बू जनजीवनसमेत पढ्न पाइने केरुङको भनाई छ ।

मेची बहुमुखी क्याम्पस भद्रपुरका अध्यापक डा. कुमार सुबेदीले क्यान्सरलाई जितेर लेखकले साहित्य भण्डारमा एउटा मूल्यवान कृति उपहार दिएको उल्लेख गर्दै क्यान्सरसँग जुध्ने बलियो आत्मविश्वास र साहित्यप्रति लेखकको गहिरो चेत नै याङरुपको रचनागर्भ भएको बताए ।