भद्रपुर । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औं जन्मजयन्तीको अवसर पारेर देवकोटा स्मारक संरक्षण समितिले चन्द्रगढीमा श्रष्टा सम्मान, शैक्षिक उन्नयन पुरस्कार तथा बाल कविता वाचन प्रतियोगिता सम्पन्न गरेको छ ।
समितिका अध्यक्ष राजु बरालको अध्यक्षता तथा नेपाल संगीत नाट्यकला प्रतिष्ठानका प्राज्ञसभा सदस्य हरिप्रसाद पौडेलको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा मनोरथ दाहाल स्मृति साहित्य पुरस्कारबाट झापाका अग्रज साहित्यकार नकुल काजीलाई नगद २० हजार रुपैयाँसहित सम्मानित गरियो भने स्रष्टा सम्मानबाट पत्रकार तलु बास्केलाई सम्मान गरिएको थियो ।
यस्तै कार्यक्रममा शैक्षिक उन्नयन पुरस्कारबाट वीरेन्द्र मावि चन्द्रगढीका उत्कृष्ट छात्र क्षितिज वन र छात्रा भूमिका खनाललाई जनही नगद ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा बाल कविता वाचन प्रतियोगितामा सुमन रेग्मी प्रथम, प्रार्थना राजवंशी द्वितीय, निलम घिमिरे तृतीय र शोभा भुजेलले सान्त्वना पुरस्कार प्राप्त गरे । बाल कविता प्रतियोगितामा उत्कृष्ट हुने बाल कविहरूलाई नगदसहित पुरस्कृत गरिएको थियो ।
समितिका उपाध्यक्ष ज्ञानेन्द्र कटुवालले स्वागत गरेको कार्यक्रको सञ्चालन सचिव युवराज ढकालले गरेका थिए भने विभिन्न कवि तथा सर्जकहरूले आफ्ना कविता, गीत एवम् सिर्जना प्रस्तुत गरेका थिए ।