२०८१ कार्तिक १५, बिहिवार , ०२:३९:१४ बजे

Sajhamanch
'

इलामको चुलाचुलीमा अस्पताल सञ्चालन गर्न समावेशी महापुराण गरिँदै

बिहिवार, कार्तिक १५, २०८१

चुलाचुली । इलाम जिल्लाको चुलाचुली गाउँपालिकामा अस्पताल सञ्चालन सहयोगार्थ समावेशी श्रीमद् भागवत सप्ताह महापुराण तथा ज्ञान महायज्ञ सञ्चालन गरिने भएको छ ।

आगामी कात्तिक २६ गतेदेखि मंसीर ३ गतेसम्म चुलाचुली २ बाह्रगोठेस्थित अस्पताल परिसरमा समावेशी श्रीमद् भागवत महापुराण तथा ज्ञान महायज्ञ सञ्चालन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङले पत्रकार सम्मेलनमा जानकारी दिए ।

चुलाचुली अस्पताल सञ्चालन गर्न अक्षयकोषको व्यवस्था गर्ने, स्वास्थ्यको पहुँच नभएका नागरिकहरूमा सुलभ स्वास्थ्य सेवाको पहुँच पुर्याउने, चौबीसै घण्टा अस्पतालबाट नागरिकहरूमा सेवा प्रवाह गर्ने लगायत एकै मञ्चमार्फत सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुताको सन्देश प्रवाह गर्ने, विभिन्न भाषा साहित्य, संगीत र मौलिकताका क्षेत्रमा काम गर्ने बौद्धिक व्यक्तिहरूको पहिचान गरी सम्मान गर्ने उद्देश्यले महापुराण आयोजना गरिएको समावेशी श्रीमद्भागवत महापुराण तथा ज्ञानयज्ञका अध्यक्षसमेत रहेका पालिका अध्यक्ष केरुङले बताए ।

चुलाचुली क्षेत्रभित्रको भूगोलमा रहेका शहीदहरू प्रति हार्दिक सम्मान र श्रद्धाञ्जलीसहित परिवार दाताहरूको सम्मान गर्ने, पालिकाको सामाजिक तथा आर्थिक रूपान्तरणमा टेवा पुर्याउने, चुलाचुली अस्पताललाई चुलाचुलीको गौरवका रूपमा स्थापित गर्ने उद्देश्यका साथ महापुराण सञ्चालन गर्न लागिएको अध्यक्ष केरुङले बताए ।

अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण व्यवस्थापन गर्ने, चुलाचुली गाउँपालिकाको आयोजनामा चुलाचुली नागरिकसमेतको अपनत्व हुनेगरी समावेशी श्रीमद्भागवत सप्ताह महापुराण सञ्चालन गरिने जनाइएको छ ।

कात्तिक २६ गते विभिन्न जातजातिका झाँकीसहितको कलश यात्राबाट शुरु हुने सप्ताह पुराणमा सात दिन सातवटै धर्मका गुरुहरूले प्रवचन गर्ने तयारी भइरहेको जनाइएको छ । सातै दिन हिन्दू, बौद्ध, किरात, स्वर्गिक मार्ग, इसाई लगायत धर्मका समावेशी प्रवचनसमेत पुराणमा रहने अध्यक्ष केरुङले बताए ।

महापुराण सम्पन्न गर्न ३५ लाख रुपैयाँको लागत अनुमान गरिएको छ भने पुराणबाट १ करोड रुपैयाँभन्दा बढी संकलन गरिने अनुमान गरिएको अध्यक्ष केरुङले बताए । पुराण सम्पन्न भएसँगै मंसीर २ गतेबाट अस्पताल विधिपूर्वक सञ्चालनमा ल्याइनेछ । स्वास्थ्य मन्त्री प्रदिप पौडेलको प्रमुख आतिथ्य र इलाम क्षेत्र नं. का २ संघीय सांसद सुहाङ नेम्बाङको विशेष आतिथ्यमा २४ सै घण्टा अस्पताल सञ्चालन शुरुवात गरिने बताइएको छ ।

समावेशी श्रीमद् भागवत महापुराण तथा ज्ञान यज्ञ मूल समारोह समितिका सचिव ‘विवश’ बलिभद्र कोइरालाले सहजीकरण गरेको पत्रकार भेटघाट कार्यक्रममा धार्मिक सद्भाव बलियो बनाउन, अस्पतालमा विशेषज्ञ र अपुग सामग्री व्यवस्थापन गर्नसमेत महायज्ञले सहयोग गर्ने बताइएको छ ।