२०८१ मंसिर ५, बुधवार , ०१:०६:०० बजे

Sajhamanch
'

गरामनीको दुर्गा शक्तिपीठमा ब्रम्हाण्ड महापुराण शुरु

शुक्रवार, असोज १८, २०८१

बिर्तामोड । पूर्वकै चर्चित धार्मिक एवं ऐतिहासिक स्थल झापा गरामनीको दुर्गा शक्तिपीठमा बडादशैंको अवसर पारेर यसवर्ष पनि महापुराण शुरु भएको छ ।
घटस्थापनादेखि पाँच दिनसम्म ब्रम्हाण्ड महापुराण आयोजना गरिएको हो । महापुराणको समुद्घाटन कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले गरिदिएका छन् ।

समुद्घाटन मन्तब्य राख्दै प्रदेश सभामुख विष्टले पूर्वका शक्तिपीठहरुमा गरामनीको दुर्गा शक्तिपीठ महत्वपूर्ण रहेको स्मरण गरे । उनले स्थानीय आदिवासीहरुले गरामनीको देवीलाई पूजा गरेर मात्र शुभकार्य थाल्ने परम्परा मान्दै आएको पनि सुनाए ।

कोशी प्रदेश सरकारले २०८२ साललाई पर्यटन वर्ष मनाउने योजना रहेकोमा झापाको गरामनी शक्तिपीठ र सताक्षीधामलाई धार्मिक एवं ऐतिहासिक पर्यटकीय स्थलको रुपमा प्रदेश सरकारको सूचीमा समावेश गराउन सुझाव दिएको जानकारी पनि दिएका छन् ।

दुर्गा शक्तिपीठमा ११औं महापुराण आयोजना गरिएको हो । हरेक वर्ष बडादशैंका बेला त्यहाँ महापुराण आयोजना गर्ने गरिएको छ । दुर्गा शक्तिपीठ मन्दिर संरक्षण समितिद्वारा आयोजित महापुराणको प्रमुख वाचकमा पण्डित ऋषि नेपाल र उपवाचकमा नारायण अधिकारी रहेका छन् ।

दुर्गा शक्तिपीठका लागि अक्षय कोष स्थापना गर्ने उद्देश्यले महापुराण आयोजना गरिएको मन्दिर संरक्षण समितिका अध्यक्ष देवीप्रसाद पाण्डे ‘दीपक’ले बताए । उनले मन्दिरको लागि १ करोड रुपैयाँको अक्षय कोष स्थापना गर्ने लक्ष्य रहेको जानकारी दिए ।

पुराण उद्घाटनकै दिन सुरेश उप्रेती निलमले १ लाख १ हजार १११ र हरि दाहालले ५१ हजार रुपैयाँ हस्तान्तरण गरेका छन् । मन्दिर संरक्षण समितिका अध्यक्ष देवीप्रसाद पाण्डे ‘दीपक’को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सभामुख विष्ट, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, पुराण वाचक पण्डित ऋषि नेपाल, सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुवास भट्टराई, पूर्व कर्नेल डीबी थापालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

मन्दिर संरक्षण समितिका उपाध्यक्ष सुरेश उप्रेती निलमले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सचिव नवीन भट्टराई र सहसचिव रोहित ओलीले गरेका थिए ।

सोही अवसरमा मन्दिरको संरक्षण र चौतर्फी विकासमा सहयोग गरेको भन्दै बिर्तामोड ८ का वडाध्यक्ष अजय कार्कीलाई सम्मान गरिएको थियो । गरामनीको दुर्गा शक्तिपीठमा बडादशैंको अष्टमीको दिन भव्य पूजा आयोजना हुने गरेको छ भने एकादशीका दिन मेला लाग्ने गरेको छ ।

धार्मिक मान्यता रहेको त्यस शक्तिपीठमा पूजा आराधना गर्न झापा, मोरङ, इलाम लगायतका जिल्लासँगै भारतबाट समेत भक्तालुहरु आउने गरेका छन् ।

सम्बन्धित खबर