बिर्तामोड । बिर्तामोडमा रहेको मनमोहन मेमोरियल सामुदायिक अस्पतालमा सिटी स्क्यान सेवा सुरु भएको छ । स्थापना भएको लामो समयपछि मनमोहन अस्पतालले सिटी स्क्यान सेवा सुरु गरेको हो ।
बिरामीको रोग पत्ता लगाउन निकै महत्वपूर्ण मानिएको सिटी स्क्यान उपकरण जडान भएपछि बिरामीको उपचार अझ प्रभावकारी ढंगबाट गरिने अस्पतालमा कार्यरत चिकित्सकहरूले बताएका छन् ।
अस्पतालमा सिटी स्क्यान जडानपश्चात जटिल किसिमका रोगहरूको पहिचान गर्न सहज हुने अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट तथा स्त्री तथा प्रसूती रोगका वरिष्ठ विशेषज्ञ डा. एकराज गौतमले बताए ।
मनमोहन मेमोरियल अस्पतालमा जडान गरिएको सिटी स्क्यान मेसिन अत्याधुनिक भएको बताइन्छ । क्यानोन कम्पनीको उक्त मेसिनले अन्य मेसिन भन्दा स्पष्टसंग शरीरका भित्री अंगहरूका आकृति खिच्ने बताइन्छ । सोही उपकरण अस्पतालमा जडान गरेर सेवा प्रदान गर्न सुरु गरिएको अस्पताल सञ्चालक समितिका अध्यक्ष नरेश खरेलले बताए ।
केही गम्भीर रोगहरूमा चिकित्सकले शरीरको कुनै निश्चित भागको विस्तृत जानकारीको लिनका लागि सिटी स्क्यान गर्न सिफारिस गर्छन् । अब सोही सेवाका लागि बिरामीलाई अन्यत्र पठाउनुपर्ने बाध्यता हटेको मनमोहन अस्पतालका चिकित्सकहरूले बताएका छन् ।