२०८१ पौष २१, आइतवार , ०१:४१:१६ बजे

Sajhamanch
'

बिर्तामोड नगर अस्पताललाई टेरी मिकेस्का फाउण्डेसनद्वारा महत्वपूर्ण उपकरण हस्तान्तरण

शनिवार, असोज ५, २०८१

बिर्तामोड । टेरी मिकेस्का फाउण्डेसन टेक्सस अमेरिकाले बिर्तामोड नगर अस्पताललाई डिफिब्रिलेटर मेसिन हस्तान्तरण गरेको छ ।

नगर अस्पतालमा शनिबार आयोजित एक कार्यक्रममा फाउण्डेसनका प्रमुख टेरी मिकेस्काले नगरप्रमुख तथा अस्पताल व्यवस्थापन समिति अध्यक्ष पवित्रा महतारा प्रसाईंलाई मेसिन हस्तान्तरण गरेका हुन् ।

डिफिब्रिलेटर मुटुको धड्कन नभएको अवस्थामा प्रयोग गरिने कार्डियोअरेष्ट प्रविधि हो । फाउण्डेसनका अनुसार उक्त मेसिन ६ हजार अमेरिकी डलरमा खरिद गरी अस्पताललाई हस्तान्तरण गरिएको नगर अस्पतालका प्रशासन प्रमुख टिका अधिकारीले जानकारी दिइन् ।

कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले नगर अस्पतालमा भएको आवश्यकतालाई महसुस गरेर डिफिब्रिलेटर प्रदान गरेकोमा टेरी मिकेस्का फाउण्डेसनलाई धन्यवाद दिएकी छन् ।

नगरबासीको स्वास्थ्यलाई मध्यनजर गरेर नगर अस्पताललाई व्यवस्थित र सुविधा सम्पन्न बनाउने कार्यमा आफू लागिरहेको नगरप्रमुख प्रसाईंको भनाई छ ।

यस्तै नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले यो महत्वपूर्ण प्रविधिले नागरिकको सेवा प्रवाहमा सहयोग पुर्याउने भन्दै बिर्तामोडका जनताले लाभ लिने बताए ।

कार्यक्रममा दाता टेरी मिकेस्कालाई प्रशंसा पत्र प्रदान गरिएको छ । नगरप्रमुख प्रसाई र उपप्रमुख संग्रौलाले सम्मान स्वरुप उनलाई प्रशंसा पत्र प्रदान गरेका हुन् ।

कार्यक्रममा अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा. आयन अधिकारी, टेरी मिकेस्का फाउण्डेसनका प्रमुख टेरी मिकेस्का, अस्पताल व्यवस्थापन समिति सदस्य अर्जुन पाठकले आ–आफ्ना घारणा राखेका थिए ।

बिर्तामोड नगरपालिकासँग टेरी मिकेस्का फाउण्डेसनको समन्वय गराउने बिर्तामोड ३ का दुर्गा काफ्ले र राजन काफ्ले लगायतको उक्त कार्यक्रममा उपस्थिति थियो ।