२०८१ मंसिर ५, बुधवार , ०२:१०:५९ बजे

Sajhamanch
'

वर्तमान साहित्य प्रतिष्ठान २५औं वर्ष पूरा, विविध कार्यक्रमसाथ मनाइयो

आइतवार, भदौ १६, २०८१

भद्रपुर । झापाको सदरमुकाम चन्द्रगढीमा रहेर साहित्य, कला, पत्रकारिता क्षेत्रका सकृय रहेको वर्तमान साहित्य प्रतिष्ठान झापाले स्थापनाको २५औं वर्ष पूरा गरेको छ । सोही उपलक्ष्यमा शनिबार यहाँ विविध कार्यक्रम सम्पन्न गरिएको छ ।

प्रतिष्ठानका अध्यक्ष डिल्लीरमण नेपालको अध्यक्षता तथा भद्रपुर नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा चन्द्रगढीमा कविता वाचन, गीत गायन तथा विगत वर्तमान झल्कने डकुमेन्ट्री प्रदर्शन गरिएको हो ।

कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै प्रतिष्ठानका पूर्व अध्यक्ष कृष्ण अनमोलले झापा सदरमुकाममा सुस्ताउँदै गएको कला, साहित्यको उत्थानमा प्रतिष्ठान लागिरहेको जानकारी दिए ।

प्रतिष्ठानका उपाध्यक्ष फणिन्द्र पोखरेलले स्वागत गरेको कार्यक्रममा भद्रपुर साहित्य कला प्रतिष्ठानका अध्यक्ष चिन्तामणि दाहाल, प्राज्ञसभा सदस्य हरिप्रसाद पौडेल, साहित्यकार भवानी क्षेत्री लगायतले मन्तव्य राख्दै भद्रपुरको कला, साहित्यको उन्नतिमा वर्तमान साहित्य प्रतिष्ठानको अविस्मरणीय योगदान रहेको चर्चा गरेका थिए ।

सचिव विकास पाण्डेले सञ्चालन गरेको कार्यक्रममा गायक अर्जुन खरेल, डिल्ली नेपाल लगायतले सुमधुर गीत सुनाएका थिए । सो कार्यक्रममा कवि विरही अधिकारी, हरिप्रसाद न्यौपाने, विकास पाण्डे लगायले कविता प्रस्तुत गरेका थिए ।

सम्बन्धित खबर