२०८१ माघ १२, शनिवार , ११:१३:३८ बजे

Sajhamanch
'

तिलकचन ठगी प्रकरण : दोषीमाथि कार्वाहीको माग

आइतवार, भदौ २, २०८१

बिर्तामोड । बिर्तामोड–२ चारपाने निवासी तिलकचन राजवंशीलाई जालझेल गरी ठगी गर्नेहरु माथि राजवंशी समाज विकास समितिले कार्वाहीको माग गरेको छ ।

राजवंशी समाज विकास समिति बिर्तामोड नगर कार्यसमितिले प्रेस विज्ञप्ति जारी गरेर सामुहिक व्यवसाय गर्न ५० लाख रुपैयाँ शेयर हाल्ने सहमतिमा एक कठ्ठा १२ धुर जग्गा एनआइसी एसिया बैंकको सुरुङ्गा शाखामा धितो राखेका तिलकचनको नाममा झुक्याएर २ करोड २४ लाख रुपैयाँ निकाल्ने व्यक्तिहरुले ठगी गरेको ठहर गरेको छ ।

तिलकचनलाई झुक्याएर ठगी गर्नेहरु त्यस कार्यमा संलग्न सम्बन्धित ब्यवसायका शेयर सदस्यहरु र बैंकका कर्मचारीहरुसहित सबैलाई कानुनको कठघरामा ल्याउन राजवंशी समाजले प्रहरी प्रशासनसँग माग गरेको हो ।

समाजका बिर्तामोड नगर समिति अध्यक्ष सिरतलाल राजवंशी र सचिव बालकृष्ण राजवंशीले जारी गरेको प्रेस विज्ञप्तिमा सोझा सीधा राजवंशीहरुलाई टाठाबाठा जातिले अझै पनि जालझेलमा पारिरहेको आरोप लगाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘राजवंशीहरु यतिकै सकिएका होइनन् । जालझेल, अन्याय, अत्याचारमा पारेको पुस्तौ भइसक्यो, अझै पनि पारिरहेका छन् ।’

तिलकचनलाई कसरी फसाइयो

बिर्तामोड–२ चारपानेका युनिस भेटवाल र बिर्तामोडका लब मैनालीले संयुक्तरुपमा तीन वर्षअघि चारपानेमा ओम शिवम् ट्रेडर्स नामक हार्डवेयर होलसेल पसल सञ्चालनमा ल्याएका थिए । केही समय पछि मैनालीले व्यवसाय छोडेपछि उक्त पसल सञ्चालन गर्न भेटवालसँग तिलकचन राजवंशी र बिर्तामोडका धर्मप्रसाद संग्रौला जोडिएका थिए । उनीहरुले साविक ओम शिवम् ट्रेडर्सको नाम परिवर्तन गरी ओम शिवम् ट्रेडर्स प्रालि राखेका थिए ।

तीन सदस्यीय नयाँ कम्पनीमा संग्रौलाले ५० लाख र तिलकचनले ५० लाख रुपैयाँ शेयर हाल्ने सहमति भएको थियो । सोही प्रयोजनका लागि तिलकचनले आफ्नो नाममा बिर्तामोड–२ मा रहेको एक कठ्ठा १२ धुर जग्गा धितो राखेर एनआइसी एसियाको सुरुङ्गा शाखाबाट रकम निकाल्ने निर्णय गरेका हुन् ।

तर कम्पनीका अध्यक्ष युनिसका बुबा मनोरथ भेटवाल र बैंकका कर्मचारीहरुको मिलेमतोमा जग्गाको अधिक मूल्यांकन गरेर २ करोड २४ लाख रुपैयाँ ऋण निकालिएको रहेछ । जुनकुरा तिलकचनले धेरै पछि थाहा पाए । उक्त ऋणको सावाँ ब्याज किस्ता नियमित हुन नसक्त धितो राखेको जग्गा लिलामी हुन लागेको हो ।

ब्यवसाय गर्न ५० लाख रुपैयाँमा धितो राखेको जमिनबाट तिलकचनले थाहा नै नपाई २ करोड २४ लाख रुपैयाँ ऋण निकालिएको कारण अहिले राजवंशी तनावमा रहेको समाजको भनाई छ ।

चतुर र टाठाबाठा जातिले दुर्बल र सोझा सीधा जातिलाई सधैंभरि शोषण र दमन गरिरहन पाउनु पर्छ भन्ने कुनियत स्थापित भए सामाजिक विचलन र विखण्डन आउन सक्ने भएकाले तिलकचन राजवंशीको घटनाप्रति गम्भीर बन्दै बैंकमा डुब्न लागेको जग्गा फिर्ता गराई दोषीमाथि कानुन बमोजिम कार्वाहीका लागि पहल गरिदिन उनीहरुले न्यायप्रेमी समुदायलाई आव्हान गरेका छन् ।