२०८१ मंसिर १५, शनिवार , ०८:५३:४७ बजे

Sajhamanch
'

झापामा हावाहुरीले ठुलो क्षति, पाउ पाथीभरा मन्दिर अगाडि रुख ढल्दा कारमा पनि क्षति

आइतवार, भदौ २, २०८१

झापा । झापामा हावाहुरीले ठुलो क्षति पुर्‍याएको छ । गएराति आएको हावाहुरीले घरको छाना उडाएर, बिजुलीको पोल ढालेर क्षति गरेको हो । चारआलीको पाउ पाथीभरा मन्दिरस्थित पूर्वपश्चिम राजमार्गमा सखुवाको रुख ढल्दा एउटा कारमा क्षति पुगेको छ ।

चारआलीबाट बिर्तामोडतर्फ जाँदै गरेको बागमती प्रदेश ०१ –०२३च ५०९३ नं को कारमा क्षति पुगेको हो । कारमा पाँच जना सवार रहेकोमा कसैलाई केही पनि नभएको चारआली प्रहरी चौकीका इन्चार्ज सई टंक कोइरालाले बताए । रुख ढलेर अवरुद्ध भएको राजमार्गलाई जेसीबी लगाएर राति नै सुचारु गराएको उनले जानकारी दिए ।

त्यस्तै हावाहुरीले बिजुलीको पोल ढाल्दा विद्युत् अवरुद्ध भएको छ । चारआली क्षेत्रमा ५–६ वटा बिजुलीको पोलमा क्षति पुगेको नेपाल विद्युत् प्राधिकरणका कर्मचारी युवराज न्यौपानेले बताए । उनले चारआली क्षेत्रमा राति नै विद्युत् सुचारु गरिएको बताउँदै धुलाबारी क्षेत्रमा अवरुद्ध नै रहेको जानकारी दिए ।

मेचीनगरको धाईजन, धुलाबारी , काँकडभिट्टामा पनि बिद्युत् अवरुद्ध रहेको जनाइएको छ । हावाहुरीले आफूहरूको क्षेत्रमा निकै क्षति पुर्‍याएको मेचीनगर १३ का वडाध्यक्ष कृष्णराज सिग्देलले बताए । उनले बिजुलीको पोल र तारसँगै वडावासीहरूको घरहरूमा पनि क्षति पुगेको जानकारी दिए । घरहरूमा पुगेको क्षतिको विवरण संकलन भइरहेको उनले बताए ।

हावाहुरीले विभिन्न ठाउँहरूमा रुख ढालेर क्षति गरेको जानकारी आएको बताउँदै जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले मानवीय क्षति नभएको जनाए । ‘जिल्लामा भएका भौतिक क्षतिहरूको संकलन गर्ने कार्य भइरहेको छ’ उनले भने,‘ मानवीय क्षति भएको जानकारी आएको छैन ।’

सम्बन्धित खबर