बिर्तामोड। झापा अर्जुनधाराका विवेक गिरीले थाइल्यान्डको बैंककमा आयोजित सातौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।
गिरीले पुम्से प्रदर्शनमा स्वर्ण जितेका हुन् । स्वर्ण जित्नका लागि उनले तीन राष्ट्रका खेलाडीसँग प्रतिस्पर्धा गर्नु परेको प्रशिक्षक दिपेन दनुवारले जानकारी दिए ।
आइतबार नै सम्पन्न २९–३२ तौल समूहको प्रतिस्पर्धामा अर्जुनधाराका प्रिजन नेम्वाङले कास्य पदक जितेका छन् । प्रिजन नेम्वाङले ४५ वटा देशका खेलाडीलाई पराजित गर्दै उक्त पदक आफ्नो बनाएका हुन् ।
झापाको अर्जुनधाराबाट चार खेलाडीसहित पाँचजना थाइल्यान्ड गएका थिए । प्रतियोगिताको पहिलो दिन शैलेश तामाङले स्वर्ण र सम्यत थापाले रजत पदक जितेका थिए ।
शनिश्चरे तेक्वान्दो डोजाङका उत्पादन तामाङले ५१–५५ केजी र थापाले ५६ केजी तौलमाथिको समूहमा प्रतिस्पर्धा गरेका थिए ।