बिर्तामोड । झापा प्रहरीले सीमावर्ती झापा गाउँपालिकाबाट लागुऔषधसहित दमकका तीनजना युवालाई पक्राउ गरेको छ ।
झापा गाउँपालिका वडा नम्बर १ सालमारामा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले हिजो दिउँसो ३ः१० बजे उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दमक-१२ बस्ने २६ वर्षीय मनिष थापा, २२ वर्षीय रिकास बस्नेत र १९ वर्षीय रोमित कटवाल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
को. ३२ प ८९७४ नम्बरको मोटरसाइकललाई शंका लागेर जाँच गर्ने क्रममा थापाले प्रहरीलाई देख्नासाथ कालो प्लास्टिकको पोका भुइँमा फालेर भाग्न खोजेका थिए ।
उनीसँगै रहेका बस्नेत र कटवाललाई समेत नियन्त्रणमा लिई उक्त कालो प्लास्टिकको पोका खोलेर हेर्दा ३ ग्राम ४४० मिलिग्राम ब्राउनसुगर भेटिएको प्रहरीको भनाइ छ ।
मोटरसाइकलसहित तीनैजनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान कार्य जारी रहेको झापाका प्रहरी प्रवक्ता डिएसपी कृष्णकुमार चन्दले बताए ।