मेचीनगर । भारतीय पक्षको कडाईका कारण पूर्वी नाका काँकरभिट्टा हुँदै नेपाल भित्रिने तेस्रो देशका पर्यटकको संख्या घटिरहेको छ ।
सीमावर्ती भारतको रानीगञ्ज चेकपोष्ट इमिग्रेसनले नेपाल आउन खोज्ने तेस्रो राष्ट्रका पर्यटकलाई कडाई गर्न थालेपछि पर्यटक संख्या घट्न थालेको हो ।
अध्यागमन कार्यालय काँकरभिट्टाका अनुसार आर्थिक वर्ष २०८०–०८१ मा तेस्रो राष्ट्रका ४ हजार १४० जना पर्यटक पूर्वी नाकाबाट नेपाल भित्रिएका थिए ।
एकवर्षे अवधिमा कूल ९ हजार ४१३ जना पर्यटक नेपाल भित्रिँदा ५ हजार २७३ जना नेपाली विद्यार्थी यही नाका हुँदै अध्ययनका लागि बंगलादेश गएका थिए । आर्थिक वर्ष २०८०–०८१ मा यो नाका हुँदै नेपाल भित्रिनेमा सबैभन्दा बढी अर्थात् ९५.१६ प्रतिशत भूटानी पर्यटक छन् ।
भारतीय इमिग्रेसनबाट भूटानीमाथि अवरोध नभएकाले काँकरभिट्टा नाकाबाट नेपाल प्रवेश गर्ने भूटानी पर्यटकको संख्या बढेको हो ।
उक्त आवमा सो नाका हुँदै भूटानका ३९४०, अष्ट्रेलियाका २५, बंगलादेशका २८, बेल्जियमका ३, क्यानडाका १७, जर्मनीका ४, मलेसियाका १, नेदरल्यान्डका ३, न्यूजिल्यान्डका १, फिलिपिन्सका ३, रोमानियाका १२, सिंगापुरका १, दक्षिण अफ्रिकाका १, दक्षिण कोरियाका ३, श्रीलंकाका १, स्वीजरल्यान्डका ४, थाइल्यान्डका १, बेलायतका ११ र अमेरिकाका ४८ जना पर्यटक नेपाल प्रवेश गरेका थिए ।
त्यस्तै, सो अवधिमा काँकरभिट्टा नाका हुँदै ८ हजार ३१७ जना बाहिरिएका छन् । तीमध्ये अध्ययनका लागि बंगलादेश गएका नेपाली विद्यार्थीको संख्या ३ हजार ६५३ छ ।
बाहिरिनेहरुमा अष्ट्रेलियाका २५, अष्ट्रियाका १, बंगलादेशका १८, भूटानका ४ हजार २००, क्यानडाका २१, चीनका २, फ्रान्सका १, जर्मनका ४, मलेसियाका १, नेदरल्यान्डका ५, न्यूजिल्यान्डका १, नाइजेरियाका १, फिलिपिन्सका १, रोमानियाका १२, स्पेनका १, श्रीलंकाका १, स्वीजरल्यान्डका ३, ताइवानका १, थाइल्यान्डका १, बेलायतका १० र अमेरिकाका ५३ जना छन् ।
अघिल्लो आर्थिक वर्षको तुलनामा यसवर्ष काँकरभिट्टा नाका हुँदै नेपाल भित्रिने तेस्रो देशका पर्यटकको संख्यामा आंशिक वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा कूल ६ हजार ४१६ जना भित्रिएकामध्ये बंगलादेश पढ्न गएका नेपाली विद्यार्थीको संख्या ४ हजार ४१८ थियो ।
त्यसवर्ष भूटानका १ हजार ८६१ जना नेपाल भित्रिएका थिए । बाहिरिनेमा ३ हजार २ नेपाली विद्यार्थीसहित ५ हजार १८९ जना थिए ।