२०८१ कार्तिक ४, आइतवार , ११:४१:३२ बजे

Sajhamanch
'

अमेरिकामा बस्ने नेपालीको योजनामा नेपालमा अवैध धन्दा, ५ जना पक्राउ

शुक्रवार, असार २८, २०८१

काठमाडौं । क्यास एप नामक अनलाइन एप्लिकेसनमार्फत सट्टेबाजीका लागि अवैधरुपमा आर्थिक कारोबारमा संलग्न व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त एप प्रयोग गरी अवैध रूपमा आर्थिक कारोबार भइरहेको गोप्य सूचनाको आधारमा प्रहरीले ५ जनालाई पक्राउ गरेको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार विराटनगर घर बताउने हाल अमेरिका बस्ने मनिष कुमार बुढाथोकीको योजनामा यो धन्दा भएको हो । उनले गौरभ भट्टराई, सुजन दाहाल, सिद्धार्थ नेपाली, आशुतोष कोइराला, मिलन मिश्रलाई एपको सर्भरको पहुँच दिई ६ ओटा ईसेवा वालेट, ५ ओटा कनेक्ट आईपीएस अकाउन्ट र सोही खाताहरूमा लिंक भएका १९ वटा विभिन्न बैंकका खाताहरूमार्फत समेतमा अवैध तरिकाले ५ करोड बराबरको आर्थिक कारोबार गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार अभियुक्तहरूलाई काठमाडौँ उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका गौरभ भट्टराई, सुजन दाहाल, सिद्धार्थ नेपाली, आशुतोष कोइराला र मिलन मिश्रलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ अन्तर्गत दफा १२५ जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसूरमा र सोही संहिताको दफा २६२ क १ अभौतिक मुद्रा प्रयोग गर्न नहुने कसूरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर पठाइएको आचार्यले जानकारी दिए ।

सम्बन्धित खबर