![](https://sajhamanch.com/wp-content/uploads/2024/06/yogesh-balen.jpg)
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सांसद योगेशकुमार भट्टराईले राजनीतिक नेतृत्वप्रति उत्तेजक अभिव्यक्ति नदिन काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहलाई आग्रह गरेका छन् ।
प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा नेता भट्टराईले काठमाण्डौ महानगरका मेयर शाहले राजनीतिक व्यवस्था परिवर्तनको संवाहक राजनीतिक दलका नेताहरूको जेलजीवनको उपहास गरेकामा आपत्ति जनाउनुभयो । उहाँले मेयर शाहप्रति लक्ष्य गर्दै भन्नुभयो, ‘काठमाण्डौलाई अझ सुन्दर बनाउन तपाईंको योजना के छ ? आउनुहोस् हामीसँगै काम गरौँ । उत्तेजना फैलाउने उच्छृङ्खल गतिविधि नगर्न म आग्रह गर्छु ।’
सांसद भट्टराईले सहकारी ठगी छानबिन गर्न गठित संसदीय छानबिन समितिले सहकारीका तमाम नीतिगत समस्याका सन्दर्भमा स्पष्ट धारणा पेस गर्ने विश्वास व्यक्त गरे । उहाँले भ्रष्टाचारका सबै प्रकरणमा आफ्नो पार्टी अनुसन्धानका लागि तयार भएको पनि बताए ।
यस्तै गिरीबन्धु टी–स्टेटको जग्गा हिनामिनाको विषय लिएर एमाले र अध्यक्ष केपी शर्मा ओलीमाथि नियोजित ढङ्गले आक्षेप लगाइएको भन्दै सांसद भट्टराईले आक्रोश पोख्नुभयो । उहाँले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदनमा अवरोध गरेका कारण नागरिकका धेरै विषय सदनमा उठाउन नसकिएको बताउए ।