२०८१ मंसिर ८, शनिवार , १०:३३:४१ बजे

Sajhamanch
'

यस वर्षको मनसुनमा झापा सबैभन्दा प्रभावित हुने पूर्वानुमान

सोमवार, जेठ २१, २०८१

बिर्तामोड । यस वर्षको मनसुन अवधिमा सबैभन्दा धेरै प्रभाव झापामा पर्ने पूर्वानुमान गरिएको छ ।

कोशी प्रदेशका १४ जिल्लामध्ये झापा, मोरङ, सुनसरी र उदयपुर बाढीबाट र बाँकी सबै जिल्ला पहिरोबाट प्रभावित हुने अनुमान छ । झापा बाढीबाट प्रभावित हुने जिल्लाको अग्रपंक्तिमा आउँछ ।

गत वर्षको मनसुन अवधिमा कोशी प्रदेशमा भएका २१३ वटा विपदका घटनामध्ये मानवीय क्षतितर्फ कोशीमा १७ जनाले ज्यान गुमाएका थिए ।

गृह मन्त्रालयको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८१ सोमवार पारित भएको छ ।

कार्ययोजनामा यस वर्षको मनसुनमा हुन सक्ने वर्षा, त्यसले पार्न सक्ने प्रभाव, त्यसबाट उत्पन्न हुने विपद र सम्भावित क्षतिको आकलन तथा विश्लेषण गरिएको छ ।

प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईका अनुसार ऐतिहासिक अभिलेख, बाढी पहिरोको जोखिमसम्बन्धी वैज्ञानिक अध्ययन र यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी पानी पर्ने पूर्वानुमान, विगतको मनसुनको वास्तविकता, यस वर्षको डढेलोको प्रकोप र भूकम्पका आधारमा सम्भावित क्षतिको आकलन तथा विश्लेषण गरिएको हो ।

यस वर्षको मनसुन नजिकिँदै गर्दा प्राधिकरणले कोशी प्रदेशमा २२ हजार घरपरिवार प्रभावित हुन सक्ने र ५ हजार घरपरिवारलाई उद्धार तथा राहत दिनुपर्ने अनुमानित तथ्यांक तयार पारेको छ ।

जल तथा मौसम विज्ञान विभागले मनसुनको अवधिमा नेपालको पूर्वी क्षेत्रमा सामान्यभन्दा अत्यधिक वर्षा हुने पूर्वानुमान भएकाले कोशी बढी प्रभावित हुने अनुमान गरिएको प्राधिकरणका प्रवक्ता डा भट्टराईको भनाई छ ।

यसवर्षको मनसुन अवधिमा अघिल्लो वर्षको तुलनामा बढी प्रभाव पर्ने आकलनका आधारमा सेना, सशस्त्र र नेपाल प्रहरीको जनशक्ति पनि ३१ हजारभन्दा बढी परिचालन गर्ने योजना छ ।

नेपाली सेना १० हजार ८४७, नेपाल प्रहरी १० हजार ५८५ र सशस्त्र प्रहरी बल ९ हजार ९२४ जना परिचालन गर्ने योजना छ । यी बाहेक स्काउट लगायतका स्वयंसेवक पनि परिचालन गर्ने योजना रहेको जनाइएको छ ।

सम्बन्धित खबर