२०८१ मंसिर १२, बुधवार , ०९:४२:०० बजे

Sajhamanch
'

छुवाछूत मुक्त राष्ट्र घोषणाको १८ औं स्मृति दिवशमा बिर्तामोडमा अन्तक्र्रिया

सोमवार, जेठ २१, २०८१

बिर्तामोड । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले नेपाली कांग्रेसका संस्थापक नेता वी.पी. कोइरालाले नै छुवाछूत मुक्ति र जातीय सहभागिताको अभियान चलाएका बताएका छन् ।

नेपाल दलित संघ झापाले छुवाछूत मुक्त राष्ट्र घोषणाको १८ औं स्मृति दिवशको सन्दर्भ पारेर आयोजना गरेको अन्तक्र्रियामा उनले सो कुरा बताएका हुन् ।

नेता थेवेले नेपाली कांग्रेसको विधानमा समेत प्रत्येक तहगत संरचनामा पिछडिएका जातजाति, क्षेत्र, वर्ग, लिङ्गको सहभागिता सुनिश्चित गरिएको र सोही अनुरुप सहभागिता बढाइएको जानकारी गराए ।

सो अवसरमा कांग्रेस जिल्ला उपसभापति केशवराज पाण्डेले कानूनी रूपमा मात्रै छुवाछूत र विभेदसम्बन्धी समस्या समाधान भएर नहुने बताउँदै भावी पिढींलाइ राम्रो शिक्षा दिए मात्र छुवाछूत अन्त्य गर्न सकिने धारणा राखे ।

कांग्रेस कोशी प्रदेश सदस्य राजकुमार बराईलीले २०४६ सालको जन आन्दोलनपछि कागजीरुपमा थुप्रै उपलब्धि भए पनि कार्यान्वयन चुस्त दुरुस्त नभएको बताउँदै व्यवहारिक रुपमा अझै विभेद नहटेको धारणा राखे ।

त्यस्तै, कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंले चेतनास्तरका आधारमै मान्छे हुने उल्लेख गर्दै मान्छे–मान्छेबीचमा विभेद गर्न नहुने बताए ।

कांग्रेसको जिल्ला पार्टी कार्यालयमा भएको कार्यक्रममा नेपाल दलित संघ कोशीका सचिव जीवन परियार, पूर्व केन्द्रीय सदस्य टंक विश्वकर्मा र हस्त परियार, अगममान विक, मीना गजमेर लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

छुवाछूत मुक्त राष्ट्र घोषणा एवं यससम्बन्धी कानूनी र संवैधानिक व्यवस्थाबारे अधिवक्ता नारायणप्रसाद पौडेलले प्रशिक्षण दिएका थिए ।

नेपाल दलित संघ झापाका अध्यक्ष दलबहादुर विश्वकर्माको सभापतित्वमा भएको कार्यक्रममा शाब्दिक स्वागत धु्रव कनाल र सञ्चालन पम्फा विश्वकर्माले गरेकी थिइन् ।

सोही कार्यक्रममा बिर्तामोड–५ की सविता मल्लिकसहित २० बढी नेपाली कांग्रेसमा प्रवेश गरेका बताइएको छ । नवप्रवेशीहरुलाई उपसभापति पाण्डे र सचिव हुमागाईंले पार्टीको साधारण सदस्यता प्रदान गर्दै स्वागत गरेका थिए ।

सम्बन्धित खबर