मेचीनगर । आत्महत्या न्यूनीकरणसम्बन्धी कार्यक्रम ल्याउन माग गर्दै सामुदायिक मानसिक स्वास्थ्य सरोकार समितिले मेचीनगर नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ ।
मेचीनगर क्षेत्रमा आत्महत्याको दर बढ्दा नागरिकमा त्रास फैलिन थालेपछि आत्महत्या रोकथाम तथा न्यूनीकरणका सम्भावित कार्यक्रम समेटिएको ज्ञापन पत्र नगर उपप्रमुख मीना उप्रेतीलाई आइतवार बुझाइएको हो ।
समितिका संयोजक देवेन्द्र खरेल नेतृत्वको टोलीले बुझाएको ज्ञापन पत्रमा आत्महत्या जस्तो संवेदनशील समस्यामा सामाजिक जिम्मेवारीबोध गरिदिन नगरसमक्ष अनुरोध गरिएको छ ।
ज्ञापन पत्रमा सामुदायिक स्वास्थ्य केन्द्रबाट मनोचिकित्सक सेवा दिन सकिने, संकटमोचन टोली परिचालन गर्न सकिने, सार्वजनिक सचेतना अभियान अघि बढाउन सकिने, तनाव व्यवस्थापनबारे कार्यशाला गर्न सकिने, प्रत्येक टोलमा गएर अभिभावक र किशोरकिशोरीलाई सामाजिक एवं पारिवारिक जिम्मेवारीबारे परामर्श दिन सकिने, विद्यालयस्तरीय कार्यक्रम गर्न सकिने, चौबीसै घण्टा परामर्श तथा सहायता उपलब्ध हुने हेल्पलाइन सेवा प्रदान गर्न सकिने सुझाव उल्लेख छ ।