२०८१ माघ ३०, बुधवार , ०७:२०:५० बजे

Sajhamanch
'

संसदीय समितिले गृहमन्त्री लामिछानेमाथि पनि छानबिन गर्छ : गगन थापा

आइतवार, जेठ २०, २०८१

काठमाडौं । सरकारले सङ्घीय संसद्को संयुक्त सभामा गएको जेठ १५ गते प्रस्तुत गरेको आउँदो आर्थिक वर्ष २०८१र०८२ को बजेटमाथि छलफल शुरु भएको छ । प्रतिनिधि सभाको आजको बैठकमा शून्य र विशेष समयको कार्यक्रम सकिएपछि अहिले बजेटमाथिको छलफल शुरु भएको हो ।

आउँदो आर्थिक वर्षको बजेटमाथि प्रतिनिधि सभा र राष्ट्रिय सभामा तीन दिन आज, भोलि र पर्सि छलफल हुनेछ । प्रतिनिधि सभामा जेठ २३ अर्थात् आउँदो बुधवार अर्थमन्त्रीले छलफलबाट उठेका विषयमा जवाफ दिनुहुनेछ । त्यसअघि पर्सि जेठ २२ मा अर्थमन्त्रीले राष्ट्रिय सभामा जवाफ दिनुहुनेछ ।

सरकारले आउँदो आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । साउन १ गते नयाँ आर्थिक वर्षसँगै नयाँ बजेट कार्यान्वयन हुनेछ ।

आज बजेटमाथिको छलफल शुरु हुनुअघिको विशेष समयमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ‘सहकारी संस्थाको बचत रकम संसदीय छानबिन विशेष समिति’ ले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि पनि छानबिन गर्ने बताउनुभएको छ । उहाँले सूर्यदर्शन सहकारीलगायतका सहकारीबाट गोर्खा मिडिया नेटवर्कले लिएको रकम अपचलन अभियोगमा समितिले गृहमन्त्री लामिछानेलाई पनि बयानमा बोलाएर कारबाहीका लागि सिफारिस गर्नुपर्ने बताउनुभएको हो ।

महामन्त्री थापाले सहकारी ठगी प्रकरणमा दोषीलाई कारबाही गर्नुपर्ने र निर्दोषलाई उन्मुक्ति दिनुपर्ने पक्षमा आफूहरू रहेको बताउनुभयो ।

यस्तै बैठकमा कांग्रेस महामन्त्री एवम् सांसद गगन थापाले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले देशको सूचना बेच्ने मान्छेहरू सदनमै रहेको भन्दै दिएको अभिव्यक्तिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफ पनि माग्नुभएको छ ।

‘देशको सूचना बेच्ने सदनमा छन् भनियो, अब हिसाबकिताब गृहमन्त्रीसँग होइन प्रधानमन्त्रीसँग हुन्छ’, उहाँले भन्नुभयो । थापाले मन्त्री लामिछानेको अभिव्यक्ति कि त संसद्बाट हटाउन नभए त्यसको जिम्मेवारी लिई जवाफ दिन माग गर्नुभएको छ ।