
कनकाई । नेकपा एमाले कनकाईको अध्यक्षमा गोकर्ण ओझा निर्वाचित भएका छन् । बुधबार भएको निर्वाचनबाट ३०२ मत प्राप्त गर्दै ओझा अध्यक्षमा निर्वाचित भएका हुन् ।
स्थानीय स्तरमा विभिन्न संघ संस्थाको नेतृत्व तहमा रहेर अभिभावकत्व निर्वाह गर्दै आएका यस क्षेत्रका पुराना बामपन्थी नेता मध्येका एक मानिने ओझा आयोजक समितिका संयोजक समेत हुन् ।
ओझाको नेतृत्वमा आएको एमाले कनकाई नगर कमिटीले पार्टी सुदृढीकरण साथै संगठन विस्तारमा थप भूमिका खेल्ने विश्वास गरिएको छ ।
ओझाको प्रतिस्पर्धीका रुपमा रहेका छविलाल थपलियाले २०४ मत प्राप्त गरेका छन् भने अर्का प्रतिस्पर्धी तुलाराम बस्नेतले १४८ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै उपाध्यक्षमा घनश्याम पौडेलले १८१ मत प्राप्त गर्दै विजयी बनेका छन् । एमाले वडाकमिटी कनकाई वडा नं. ४ को सफल नेतृत्व प्रदान गर्दै आएका पौडेल स्थानीय स्तरमा क्रियाशिल एक सामाजिक कार्यकर्ताका रुपमा समेत स्थापित व्यक्तित्व हुन् ।
उपाध्यक्षका अन्य प्रत्यासीहरु क्रमशः इन्द्र पुलामी मगरले ८४ मत, ऋषिकेश खतिवडाले १२४ मत, देवीप्रसाद उप्रेतीले १४१ मत र प्रेमबहादुर कटुवालले १५० मत प्राप्त गर्न सफल भएको जनाइएको छ ।
त्यस्तै सचिव पदमा प्रकाश शिवाकोटीले २९५ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । कनकाईको वडा नं. ७ का पूर्व जनप्रतिनिधिका रुपमा रहेर वडामा महत्वपूर्ण जिम्मेवारी पूरा गरेका शिवाकोटी गएको स्थानीय तह निर्वाचनमा एमालेबाट वडाअध्यक्षका प्रत्यासी थिए ।
हाल एमाले वडा कमिटीको इञ्चार्जको भूमिकामा रहेर जिम्मेवारी पूरा गर्दै आएका युवा नेता शिवाकोटी सबै तहका नेता तथा कार्यकर्तासँग समन्वय गर्नसक्ने प्रष्ट वक्ताका रुपमा चिनिन्छन् । उनका प्रतिस्पर्धीहरु क्रमशः विश्वविजय खरेलले १५९ मत, मिनाल तिम्सिनाले १०२ मत र खिनमाया आचार्य खतिवडाले ९७ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपसचिवमा पुरुषतर्फ ख्यामप्रसाद ओलीले ३९१ मत प्राप्त गर्दै विजयी बनेका छन् । कनकाई सामुदायिक वनको अध्यक्षसमेत रहेका ओली होटल व्यवसायिक संघ लगायत अन्य विभिन्न सामाजिक संघसंस्थाको नेतृत्व तहमा रहेर सफल कार्य सम्पादन गर्दै आएका सामाजिक अभियन्ता हुन् ।
उनका प्रतिस्पर्धी शुक्रराज भण्डारीले १८५ मत र नविनकुमार राईले ६६ मत प्राप्त गर्न सफल भएको बताइएको छ । महिला उपसचिवमा राधिका ओली कडरियाले ४७९ मत ल्याएर विजेता बनेकी छन् ।
लामो समयदेखि शिक्षा क्षेत्रमा रहेर पनि पार्टी राजनीतिमा सक्रिय कडरिया यस क्षेत्रमा सम्भावना बोकेकी एक सफल महिला नेतृका रुपमा परिचित हुँदै आएकी छन् । उनका प्रतिस्पर्धीका रुपमा रहेकी विन्दा थापाले १६४ मत प्राप्त गर्न सफल भएको निर्वाचन समिति संयोजक तारादेवी बाराकोटीले जानकारी दिएकी छन् । निर्वाचनमा जम्मा ६८१ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
बुधबार दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म भएको निर्वाचनमा प्रतिनिधिका रुपमा कूल ७९२ मतदाता रहेका थिए । मतदान स्थल कनकाई उद्योग वाणिज्य संघको सभा हलमा नै आवश्यक प्रक्रिया पूरा गरी साँझ ८ः३० बजेदेखि मतगणना सुरु भएको जनाइएको छ ।