बिर्तामोड । गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत बिर्तामोडमा सञ्चालित झोला बनाउने तालिम समापन भएको छ ।
बिर्तामोड नगरपालिकाले गत चैत १३ गतेबाट शुरु गरेको सो तालिममा बिर्तामोड–१, ३, ४ र ७ नम्बर वडाका गरी १५ जना महिलाहरु सहभागी थिए । तालिममा सहभागीहरुलाई नगरपालिकाले झोला सिलाउने मेशिनसमेत प्रदान गरेको छ ।
सहभागीको ३५ प्रतिशत लागत साझेदारीमा १५ वटा मेशिन प्रदान गरिएको लघु उद्यम विकास कार्यक्रम संयोजक चनिमाया तामाङले बताइन् । तालिमका प्रशिक्षार्थीहरुलाई नगरप्रमुख पवित्रा महतारा प्रसाईंले प्रमाण पत्र वितरण गरेकी थिइन् ।
त्यसक्रममा नगरप्रमुख प्रसाईंले सहभागीहरुलाई तालिममा सिकेको सीपलाई सही सदुपयोग गरेर उद्यमी बन्न आग्रह गरेकी छन् ।
हातमा सीप भए बेरोजगार बस्नु नपर्ने भन्दै उनले नगरपालिकाको तर्फबाट यस वर्षपनि अचार बनाउने, गुडिया बनाउने, ढाका बुन्ने, फोटो फ्रेम बनाउने, पोते उन्ने लगायत तालिम प्रदान गरिएको उल्लेख गरिन् ।
तालिम समापनका क्रममा नगर शिक्षा शाखाप्रमुख उपसचिव तिलचन भण्डारी, वडा नम्बर ३ का अध्यक्ष मदन बुढाथोकी, वडासदस्य लक्ष्मी रोक्का, समाजसेवी तोमप्रसाद ओली लगायतको उपस्थिति थियो । तालिममा भाग लिएकाहरुलाई पंकजा भण्डारीले प्रशिक्षण दिएकी थिइन् ।