
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने छलफलमा जुट्नुभएको छ । सिंहदरबारमा चलिरहेको बैठकमा तीन जना नेताबीच पछिल्लो राजनीतिक घटनाक्रम, संसद् बैठक व्यवस्थित ढङ्गले चलाउने लगायतका बारेमा छलफल भइरहेको बताइएको छ ।
प्रतिनिधि सभा बैठक आज बिहान ११ बजेका लागि बोलाइएको थियो । तर अझैसम्म शुरु हुन सकेको छैन । संसदमा हिजो सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबीच तनाव भएपछि सहकारी अपचलनमा संसदीय छानबिन समिति गठनको मुद्दा थप पेचिलो बनेको छ ।
सहकारी अपचलनमा उपप्रधान एवम् गृहमन्त्री लामिछानेको संलग्नता रहेको दाबी गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै संसद् बैठकमा अवरोध गर्दै आएको छ ।
हिजो संसद् बैठक बस्नुअघि यस विषयमा दलहरू सहमतिको नजिक पुगेको भनिए पनि त्यसपछि संसदमा भएको तनावले अविश्वास बढाएको छ ।