
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेताहरुबीच आज बिहान बालुवाटारमा छलफल भएको छ । अवरुद्ध संसद खुलाउने विषयमा छलफल केन्द्रित थियो । छलफलमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रस्तुत गर्ने सरकारको नीति तथा कार्यक्रमका लागि सहज वातावरण बनाइदिन सहयोगका लागि आग्रह गरेको नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।
कांग्रेसले थप रणनीति संसदीय दलको बैठकबाट तय गर्दैछ । कांग्रेस संसदीय दलको बैठक केहीबेरमा पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बस्दैछ । सहकारीको बचत अपचलनमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै प्रमुख प्रतिपक्ष दल कांग्रेसले छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ ।
सङ्घीय संसदअन्तर्गत आज संयुक्त बैठक बस्दैछ । आजको बैठकमा सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले आउँदो आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ ।