
बुद्धशान्ति । झापा जिल्ला अदालतको आदेश उधृत गर्दै असम्बन्धित विभिन्न व्यक्तिहरुलाई बुद्धशान्ति गाउँपालिकाले पत्र काटेर दुःख दिएको पाइएको छ ।
बुद्धशान्ति वडा नं. २ का उद्धवप्रसाद सिवाकोटीले रुख विरुवा कटान रोकेर जग्गा यकिन गराइ पाउँ भनी गाउँपालिकामा मिति २०८० चैत ७ गते दिएको निवेदनमा अदालतको आदेशका विषयमा कुनै पनि कुरा उल्लेख छैन तर पालिकाले काटेको पत्रमा अदालतको आदेश भनिएको छ ।
निवेदकले अर्कै व्यक्तिलाई दायर गरेको सोही प्रकृतिको अर्को मुद्धामा झापा जिल्ला अदालतबाट मिति २०८० चैत २ गते भएको आदेशको प्रति घुसाएर गाउँपालिकामा पेश गरेको निवेदन मात्र पढेर असम्बन्धित विभिन्न व्यक्तिहरुलाई पालिकाले पत्र काटेर दुःख दिएको हो ।
निवेदक सिवाकोटीले आफ्नो निवेदनमा अदालतको आदेशको कुनै जिकिर गरेका छैनन् । तर सोही निवेदन कार्यान्वयन गर्ने नाममा गाउँपालिका अध्यक्ष मनोज प्रसाईंको हस्ताक्षरमा मिति २०८० चैत ७ गते प. सं. ०८०/८१ च. नं. १९३० बाट अर्जुनधारा ८ का रेनुका कोइराला र नारदमुनी कोइराला तथा सूर्यविनायक ४ भक्तपुरका पृति ढकाल सिवाकोटी र प्रान्जल सिवाकोटीको नाममा पत्र काटिएको हो ।
निवेदक सिवाकोटीले अदालतको आदेश पछि आफ्नो पूर्वपत्नी पृति ढकाल सिवाकोटी र छोरी प्राञ्जल सिवाकोटीलाई अंश दिएको जग्गा उनीहरुले थापा थरका एकजना व्यक्तिलाई बिक्री गरेका थिए । सो जमिन दोस्रो पटक किनबेच भई थापाबाट अर्जुनधारा ८ की रेनुका कोइरालाको नाममा राजिनामा पास भइसकेको छ । ‘तर उक्त जमिनमा लगाइएको बोट विरुवाहरु अदालतबाट नाप नक्सा नभएसम्मको लागि नकाट्नु भन्ने गाउँपालिकाको पत्रले संविधान प्रदत्त सम्पत्तिको हक माथि नै धावा बोलेको प्रतित हुन्छ’ जग्गा धनी रेनुकाका छोरा राजेश कोइराला बताउँछन् ।
गाउँपालिकाले हुलाकमार्फत् कोइराला परिवारलाई पठाएको पत्रमा उल्लेखित जमिनको दुईवटै कित्ता उद्धव शिवाकोटीले मेरो भनी दावी गर्नु र धनिपूर्जाको प्रतिलिपी पनि नराखी दिएको निवेदनकै आधारमा पालिका अध्यक्षले पत्र काट्नुले व्यक्तिको निजी सम्पत्ती माथि पालिका अध्यक्षले समेत धावा बोलिरहेको राजेशको जिकिर छ ।
‘गाउँपालिका अध्यक्ष प्रसाईको हस्ताक्षरमा प्राप्त पत्रमा उल्लेखित जग्गा कित्ता नम्बर ४९४३ र ४९४५ मेरो आमाको नाममा २०७९ असार ३१ गते राजिनामा पास भई एकलौटी हकभोगको जग्गा हो’ राजेश भन्छन्, ‘निवेदकले पेस गरेको कागजात पूरै नपढी अदालतको आदेशको हवाला दिएर हामी असम्बन्धित मानिसहरुलाई गाउँपालिकाले किन थर्काएको दिएको हो, बुभ्mन सकिएको छैन ।’
गाउँपालिकामा पेश गरिएको निवेदनका साथमा उद्धवप्रसाद सिवाकोटीले भूमिप्रसाद लामिछानेलाई विपक्षी बनाएर दायर गरेको मुद्धामा झापा जिल्ला अदालतबाट मुद्धा नं. ०७९–cp–०४१४ मिति २०८० चैत २ गते भएको आदेशको प्रति राखेको पाइएको छ । तर गाउँपालिकालाई सिवाकोटीले दिएको निवेदनमा अदालतको विषय उठान नै नगरी मेरो पूर्वपत्नी र छोरीलाई अंश दिएको विवादित जमिन भनी जिकिर गरेका छन् ।
गाउँपालिकाले वडा नं. २ लाई आवश्यक सहजीकरण गरिदिनु हुन भनी बोधार्थ दिएकोले सो वडाका वडाध्यक्ष डिल्ली ओलीलाई वास्तविकता के हो भनी जिज्ञासा राख्दा उनले ‘जाली किर्ते कागज राखेर दिएको निवेदन नपढी पालिका अध्यक्षले रातो मसीले हस्ताक्षर गर्नु सरासर अख्तियारको दुरुपयोग भएको’ बताए ।
हस्ताक्षर गर्नुअघि पालिका अध्यक्षले निवेदनलाई पुष्टि गर्ने ‘सपोर्टेड डकुमेन्ट्स’ अध्ययन गर्नुपर्ने थियो तर सिवाकोटी परिवारको प्रभावमा परेर उनले जग्गाधनीलाई आफ्नो सम्पत्तीको हकभोग गर्न नदिने प्रपञ्च गरेको प्रष्ट देखिन्छ ।
‘वडाध्यक्षको नाताले रुख विरुवा कटानका लागि मैले जग्गाधनीको कागजात राखेर नियमानुसार वन कार्यालयमा सिफारिस गरिदिएको हो, तबमात्र कोइराला परिवारले निजी वनको रुख कटानी गरेका हुन्’ वडाध्यक्ष ओलीले साझामञ्चसँग भने यही घटनालाई लिएर निवेदकका भाइ प्रकाश सिवाकोटीले मेरो छोरोलाई बोलाएर ‘तिम्रो बावुको हातखुट्टा भाँचिदिन्छु र बिएण्डसी अस्पतालमा राखेर उपचार गर्छु भनी धाकधम्कीसमेत दिएको घटना स्मरण गर्दा पालिका अध्यक्षसमेत दबावमा वा प्रभावमा परेका हुनसक्छन् ।
निवेदक सिवाकोटीका संधियार शिव थपलियाका अनुसार गाउँपालिकाले कोइराला परिवारको नाममा पत्र काट्नु सरासर गलत भएको तर्क गरेका छन् । जुन जमिनमा लगाइएको रुख विरुवा नकाट्न अदालतको आदेश छ, सोभन्दा १ किलोमिटर टाढा रहेको असम्बन्धित मानिसहरुलाई गाउँपालिकाले पत्र काटेर दुःख दिनु पालिका अध्यक्षले अख्तियारको दुरुपयोग गरेको ठहर्दैन र ?
अझ पालिकामा नै न्यायिक समिति रहेको र सो को संयोजक उपाध्यक्षमा यस्तो विषयमा छानविन गर्ने, मिलाउने अधिकार निहित रहेको हुन्छ । तर पालिका अध्यक्षले उपाध्यक्षसमेतलाई थाहा नदिई पत्र काट्नु सरासर गलत नियत भएको थपलियाको बुझाई छ ।
आफूहरु उद्धवप्रसाद सिवाकोटीको नाममा रहेको कित्ता नं. ४९४४ नम्बरको करिब ५ विगाहा जमिनका संधियार रहेको बताउँदै थपलियाले उनले पश्चिम तर्फका १२ जना र पूर्वतर्फका ६ जना संधियारलाई मुद्धा हालेर अदालतबाट आएको आदेशको प्रति राखी असम्बिधत व्यक्ति कोइराला परिवारलाई ‘टर्चर’ दिएको उनले बताए ।
बुवा आमाको नाममा गाउँपालिकाबाट अलग अलग दुईवटा पत्र हुलाकमार्फत घरमा आएपछि आफूले गाउँपालिका गई उपाध्यक्ष भवानी खतिवडासमक्ष कुरा राख्दा आफूलाई यो विषयमा कुनै जानकारी नदिई अध्यक्षले मनोमानी तपाईहरुलाई पत्र काटेको रहेछ भनी बताएको कोइराला बताउँछन् ।
आफूहरुले भोगचलन गरेको जमिनमा कुनै संधियारको हकभोगको जमिन परेको नहोस् भन्नका लागि कोइराला परिवारले नापी कार्यालय भद्रपुरबाट अमिन झिकाएर गत २०८० माघ २३ गते संधियारहरु राखेर नापजाँच गरी प्रमाणित पनि गरिसकेको अवस्थामा यस्तो झुठा आरोप लाग्नुले आफूहरु चिन्तित भएको उनको भनाई छ ।
सोही समयमा आफूले समग्र विषयको कागजात प्रतिलिपी माग गरेर हेर्दा पालिका अध्यक्षले हामीलाई पत्र काट्नुको कुनै विश्वसनीय आधार नभएको कोइरालाको दावी छ । कोइरालाले अब पालिकाले आफूहरुलाई अनाहकमा दिएको दुःखको कानूनी उपचार खोज्न आफू लागिरहेको साझामञ्चलाई बताए ।
(सम्बन्धित कागजातको प्रतिलिपी समावेश छ ।)