
काठमाडौं । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाउन कांग्रेसले दिएको ‘अल्टिमेटम’ सकिएको घोषणा गर्नुभएको छ ।
आज प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको विषयलाई छानबिन गर्न संसदीय समिति बनाउनका लागि दिइएको ‘अल्टिमेटम’ सकिएको घोषणा गर्नुभएको हो । उहाँले विगतमा संसद् अवरुद्ध भएको र तोडफोडसमेत भएको आफूहरूले देखेको भन्दै प्रतिपक्षको विनम्रता र शालिनता कमजोरी लाग्यो भनेर प्रश्न गर्नुभयो ।
सांसद शर्माले आउँदो संसद् बैठकमा आउँदा संसदीय छानबिन समिति बनाएर आउन सरकारलाई अपिल गर्दै गठन नगरेमा बैठक चल्न नदिने चेतावनी दिनुभयो । उहाँले सहकारी ठगी प्रकरणमा फरार अभियुक्त जीबी राई गृहमन्त्री रवि लामिछानेको सम्पर्कमा रहे पनि पक्राउ गर्न नचाहेको आरोप लगाउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘कोर टिम’ नै सहकारीको रकम ठगीमा मुछिएको पनि कांग्रेसको आरोप छ । सांसद शर्माले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको सहमतिविना अथवा कार्यव्यवस्था परामर्श समितिको सहमतिविना संसद् बैठक सञ्चालनका लागि कार्यसूची नराख्न सभामुखलाई आग्रह पनि गर्नुभयो ।