२०८१ फागुन १२, सोमवार , ०८:२६:१९ बजे

Sajhamanch
'

सहकारी ठगीमा रास्वपाका डीपी अर्याल र कविन्द्र बुर्लाकोटीसमेत आरोपित रहेका कांग्रेसको दाबी

मङ्गलवार, चैत २०, २०८०

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल र सहमहामन्त्री कविन्द्र बुर्लाकोटीसमेत आरोपित रहेका दाबी गरेको छ ।

रास्वपाका सभापतिसमेत रहेका गृहमन्त्री रावि लामिछानेमाथि सहकारीको रकम हिनामिना आरोपमा संसदीय छानबिन समिति गठनको माग गर्दै आएको कांग्रेसले आजको बैठकमा अरू दुई जना नेतासमेत आरोपित रहेका दाबी गरेको हो ।

प्रतिनिधि सभाको बैठक शुरु भएलगत्तै कांग्रेसका सांसद विरोधमा उठेका थिए । सभामुख देवराज घिमिरेले समय दिएपछि पार्टीका तर्फबाट बोल्दै कांग्रेसका सांसद रामकृष्ण यादवले गृहमन्त्री लामिछानेलाई लागेको आरोपका सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग दोहोर्‍याउनुभयो । साथै उहाँले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसमेत रहेका अर्याल र रास्वपाकै अर्का नेता बुर्लाकोटी आरोपित रहेका दाबी गर्नुभयो ।

डीपी आर्याल ‘हाम्रो नयाँ कृषि सहकारी संस्था’ को उपाध्यक्ष हुँदा निक्षेपकर्ताले चार करोड रुपैयाँभन्दा बढी रकम फिर्ता नपाएको र त्यस सहकारीको सञ्चालक समितिको सदस्यमा बुर्लाकोटीसमेत रहेका यादवले बताउनुभयो ।

यसैबीच संसद् भवन अगाडि पत्रकारसँग कुरा गर्दै उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा पार्टीका नेताहरूको नाम जोड्दैमा आत्तिइहाल्नु नपर्ने बताउनुभयो । पत्रिकामा छाप्दैमा दोषी नहुने भन्दै उहाँले प्रमाणित भएको कुरा र हल्ला, प्रचारबाजीमा फरक रहेको बताउनुभयो ।

सम्बन्धित खबर