२०८१ पौष ८, सोमवार , १०:११:४९ बजे

Sajhamanch
'

स्वर्ण लक्ष्मीको १५ औं स्थापना दिवसः सामुदायिक उत्तरदायित्व कार्यक्रमका साथ उत्कृष्ट कारोबार गर्ने ५ जना सम्मानित

शुक्रवार, चैत ९, २०८०

शिवसताक्षी । स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले शिवसताक्षीको झिलझिलेमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्वास्थ्य शिविरमा ८९ जनाले सेवा लिएका छन् ।

संस्थाले आफ्नो १५ औं स्थापना दिवसको अवसर पारेर सदस्य शिक्षा तथा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको संस्थाका अध्यक्ष बुद्धिसागर बरालले जानकारी दिए ।

स्वास्थ्य शिविर अन्तर्गत निशुल्क आँखा परीक्षणमा शिवसताक्षीका ६० जनाले सेवा लिए भने, दन्त परीक्षणमा २९ जनाले सेवा लिएको संस्थाले जनाएको छ ।

साकोसका सदस्यहरुमा सहकारी शिक्षा प्रदान गर्दै संस्थाका व्यवस्थापक कमल कुमार घिमिरेले सहकारीले हालसम्म गरेको वित्तीय कारोबार, संस्थाको वित्तीय अवस्थाका बारेमा प्रष्ट पारेका थिए । उनले सहकारी संस्थाको नभई शेयर सदस्यहरुको भएकाले संस्थाले वर्षभरी गरेको कारोबार सदस्यहरुले हेर्नु पर्ने बताए । उनले हालसम्म संस्थाले गरेको वित्तीय कारोबार सदस्यहरु माझ प्रस्तुत गरेका थिए ।कार्यक्रममा संस्थाकोे हाल १ अर्व २१ करोड ५४ लाख बढीको कारोबार रहेको जानकारी गराइएको थियो ।

संस्थाले स्थापना दिवसको अवसर पारेर शिवसताक्षी ८ झिलझिले शाखामा उत्कृष्ट कारोबार गर्ने ५ जना सदस्यलाई सम्मान गरेको छ। सम्मानित हुनेहरुमा धनमाया न्यौपाने, रीता दमाई, तुलसा खरेल, सुनिता कार्की खड्का र सरोजकुमार खपाङ्गी रहेका छन् ।
कार्यक्रममा शिवसताक्षी उद्योग वाणिज्य संघका अध्यक्ष यामनाथ काफ्लेले सहकारीले समाजमा पुर्याएको योगदान भुल्न नहुने बताए । उनले सहकारी र सदस्य परिपुरक भएर कारोबार गर्ने हो भने सहकारीले मानिसको घरबार बेहाल पार्ने होइन मानिसको घरबार जोड्ने हैसियत राख्ने बताए ।

कार्यक्रममा संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै दुधे स्थित श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका विपन्न तथा जेहेन्दार ३३ छात्र छात्रालाई स्कुल व्याग वितरण गरेको छ । विद्यार्थीहरुको पठन पाठनलाई ध्यानमा राख्दै विद्यार्थी स्कुल व्याग वितरण गरेको संस्थाले जनाएको छ ।

संस्थाले संचालन गरेको आँखा शिविरमा मेची नेत्रालयका डा. अशोक तिवारीको टोलीले र दन्त परीक्षण आमा डेन्टल केयर क्लिनिक दमकको टोलीले सहजीकरण गरेको थियो ।

कार्यक्रम स्वर्ण लक्ष्मी साकोसका अध्यक्ष बुद्धिसागर बरालको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत झिलझिले शाखा संयोजक प्रेमकुमारी रिजालले गरेकी थिइन् ।

झापाको दमकमा केन्द्रीय कार्यालय भएको स्वर्ण लक्ष्मी साकोसको हाल झिलझिले, सुरुङ्गा, गौरादह र उर्लाबारीमा सेवा केन्द्रहरु सञ्चालनमा रहेका छन् ।

शुक्रवार, चैत ९, २०८० | सहकारी