
काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध २०७ रनको लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरेको छ ।
नेपालले २० रन बनाउँदा २ विकेट गुमाइसकेको छ । २-५ ओभरमा आशिफ शेख व्यक्तिगत ६ रनमा दोस्रो विकेटका रुपमा आउट भएका हुन् ।
अर्का ओपनर कुशल भुर्तेल रोयल डक भएका थिए । रुबेन ट्रम्पलम्यान बल मिस भएपछि नामिबियाका खेलाडीले गरेको अपिलमा अम्पायरले सजिलै औंला उठाइदिए।
टस जितेर पहिला ब्याटिङ गरेको नामिबियाले निकोल लोफ्टी इटनको विश्व कीर्तिमानी शतकसँगै निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनायो ।
लोफ्टी इटनले १०१ रन बनाए । त्यसक्रममा उनले ३३ बलमा शतक पूरा गर्दै कुशल मल्लको कीर्तिमान तोडेका छन् ।
मल्लले एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ३४ बलमा शतक बनाएर सबभन्दा कम बलमा १०० रनको रेकर्ड बनाएका थिए ।
लोफ्टी इटनले ३३ बलमै शतक पूरा गर्ने क्रममा ११ चौका र ८ छक्का हानेका छन् । मुलान क्रुगरले ५९ रन बनाए भने माइकल भान लिंगेनले २० रन बनाए ।
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले २ विकेट लिए भने करण केसी र अविनाश बोहोराले एकरएक विकेट लिए ।