काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट शिशु चोरी गर्ने महिलाको पहिचान भएको छ । प्रहरीका अनुसार दैलेखकी मनिषा भन्ने मनकुमारी सिंहले बच्चा चोरी गरेकी थिइन् ।
आफ्नो बच्चा नभएका कारण आफूले सन्तानको रहर पूरा गर्न शिशु चोरी गरेको उनले प्रहरीसँग बताएकी छन् । विवाह गरेको लामो समय भए पनि बच्चा नभएपछि उनले बच्चा चोरेर सन्तानकै रूपमा हुर्काउने योजना बनाएर प्रसूति गृह पुगेको पाइएको प्रहरीले जनाएको छ ।
२४/२५ वर्ष उमेर भए पनि विवाह गरेको लामो समय भएको अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाइ छ ।
प्रसूति गृहबाट चोरी भएको शिशुको ८ घण्टापछि उद्धार
बच्चा चोरी गर्ने मनिषाका श्रीमान् नेपाली सेनामा कार्यरत रहेको अनुसन्धानबाट खुलेको छ । “घरमा महिलाले बाटोमा बच्चा जन्माएर ल्याएको भनेको पाइयो । हामी उनको घरमा पुग्दा सुत्केरीजस्तै कोठामा गाउन लगाएर बसेकी थिइन्,” एक प्रहरी अधिकारीले भने , “उनको श्रीमान् नेपाली सेनामा कार्यारत रहेको र उनलाई पनि भ्रममा राखेर आफूले बाटोमा सुत्केर भएर बच्चा लिएर फर्किएको बताएकी रहिछन् ।”
प्रहरीले शिशुको उद्धार गरेर आमाबुवालाई जिम्मा लगाइसकेको छ ।
बाटोमा बच्चा जन्माएर ल्याएको भनेर सुत्केरीजस्तै बनेर बसेकी थिइन् कोठामा । काठमाडौं प्रहरीको विशेष टोली र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आफूलाई सूचना आएको आठ घण्टापछि काँडाघारीबाट बच्चाको उद्धार गरेको हो ।
मनिषालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।