झापा । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले झापाको बाहुनडाँगीस्थित प्रसाद गौडाबाट हात्ती प्रभावित क्षेत्रमा पदयात्रा सुरु गरेका छन् । ‘जीव÷जनावर, जंगल, जनतामैत्री जिम्मेवार जनप्रतिनिधि’ भन्ने नारासाथ नेपाल भारत सीमाको मेची खोला तीरमा हात्ती नेपालतर्फ प्रवेश गर्ने नाकाबाट बुधबार पदयात्रा सुरु भएको हो ।
हात्तीको परम्परागत जैविक मार्गको पुनःस्थापना तथा बासस्थानको संरक्षण एवम् मानव–हात्ती द्वन्द न्यूनीकरण गर्दै संरक्षणमा सहअस्तित्व र हात्तीमैत्री पर्यापर्यटन विकास गर्ने पदयात्राको उद्देश्य रहेको बताइएको छ । कोसी सरकारले पर्यावरण संरक्षण गर्ने उद्देश्यसहित ‘जसको जंगल उसको मंगल’ कार्यक्रम बजेटमार्फत नै अघि सारेको छ ।
शुभारम्भ कार्यक्रममा मुख्यमन्त्री कार्कीले हात्ती र मानवबीचको द्वन्द्व घटाउन र समस्या पहिचान गर्न पदयात्रा सुरु गरिएको बताएका छन् ।
सबैभन्दा बढी मानिसले ज्यान गुमाएको ठाउँमा आएर दुःखको कुरा सुन्दै अघि बढ्ने र हात्तीको पनि संरक्षण गरिने मुख्यमन्त्री कार्कीले बताए । सरकारले जनता, बाली र घर बिमा कार्यक्रम कार्यान्वयन गर्ने योजना रहेको मुख्यमन्त्री कार्कीले जानकारी दिए ।
बाहुनडाँगीबाट सुरु भएको यात्रा फागुन १६ गते उदयपुर जिल्लाको बेलसोतमा पुगेर सम्पन्न हुनेछ । पदयात्रामा प्रदेशका सरकारी एवं गैरसरकारी निकाय, संरक्षणकर्मी, सुरक्षाकर्मी, संचारकर्मी, हात्तीविज्ञ, नागरिक समाज एवं आम नागरिकहरुको सहभागिता छ । मुख्यमन्त्री कार्कीले जैविक मार्गमै पर्ने सात स्थानमा रात्रिकालीन विश्राम गर्नेछन् ।
एसियन हात्तीहरू वर्षेनी भारतको आसामबाट मेचीनदी पार गरी झापा जिल्लाको बाहुनडाँगीका विभिन्न चारवटा गौंडाबाट नेपाल प्रवेश गर्ने गर्छछन् । कोसी प्रदेशको झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लाभर आवतजावत गर्ने क्षेत्रमै मुख्यमन्त्री कार्कीले पदयात्रा तय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
यसक्रममा मुख्यमन्त्रीसहितको टोलीले झापाबाट उदयपुरसम्म कूल २४३ किलोमिटर पैदल यात्रा गर्ने रुट तय गरिएको छ । यस क्रममा मुख्यमन्त्री कार्कीले चार जिल्लाका विभिन्न २३ स्थानीय तह पुगेर स्थानीय जनतासँग साक्षात्कार गर्नेछन् ।