२०८१ पौष ८, सोमवार , १२:५२:२१ बजे

Sajhamanch
'

शिवसताक्षीमा सोनाम लोसार मनाइयो

आइतवार, फागुन ६, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षीमा तामाङ्ग समुदायले सोनाम लोसार मनाएका छन् । नेपाल तामाङ्ग घेदुङ शिवसताक्षी नगरपालिका वडा नं. ९ ले सोनाम लोसार २८६० सालको पर्व मनाउँदै विभिन्न साँस्कृतिक कार्यक्रम गरेको हो ।

कार्यक्रमको झापा क्षेत्र नं. ४ का सांसद एलपी साँवा लिम्बुले उद्घाटन गरेका हुन् । कार्यक्रममा नेपाल तामाङ्ग घेदुङ शिवसताक्षी ९ ले बुद्ध छोरेङ गुम्बा निर्माण गर्ने जानकारी गराएको छ । शिवसताक्षी ९ को योङया चोक दक्षिणमा उक्त गुम्बा चाडै निर्माण गरिने नेपाल तामाङ्ग घोदुङका उपाध्यक्ष गंगाराम तामाङ्गले जानकारी दिए ।

गुम्बा निर्माणका लागि शिवसताक्षी ९ का गंगाराम तामाङ्ग, सुनमाया तामाङ्ग, निर्माण लामा तामाङ्ग, लक्ष्मी तामाङ्ग, दावा तामाङ्गले ४ कठ्ठा जग्गा निशुल्क प्रदान गरेका हुन् । त्यस्तै भिमबहादुर तामाङ्ग र सुक माया तामाङ्गले २ कठ्ठा जग्गा समेत गुम्बा निर्माणका लागि प्रदान गरेका नेपाल तामाङ्ग घोदुङ संघ शिवसताक्षी ९ ले जनाएको छ। कार्यक्रममा जग्गा दाता सबैलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा शिवसताक्षी नगरपालिका नगरप्रमुख मेगाहाङ्ग थोप्रा, पूर्व सांसद तारासम योङ्या लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा तामाङ्ग समुदायका अग्रज व्यक्तिहरुले तामाङ्ग सेलो गीत गाएका थिए भने, विभिन्न गीत तथा नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रम नेपाल तामाङ्ग घोदुङ शिवसताक्षी ९ का अध्यक्ष मोहन तामाङ्गको अध्यक्षतामा भएको थियो ।

ल्होसार १२ जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार मनाइन्छ ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर ल्होसारमा १२ वटा जीवजन्तुका नामबाट पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ ।

भूमिपूजा, कूलपूजा एवं दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गरी यो पर्व मनाउने परम्परा छ ।

आइतवार, फागुन ६, २०८० | समाज

सम्बन्धित खबर